श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी विभिन्न समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार मन्त्रालयका निर्णयहरू पुनरवलोकन गर्न मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएका छन्।
वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरु प्रधानमन्त्रीबाट कतिपय तत्काल कार्यान्वयन नगर्न एवम् कतिपय विषयहरु विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयले उल्लेख गरेको छ।
विशेषगरी पूर्व प्रस्थान अभिमूखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पठाईरहेको अवस्थाका बीच ई७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषय लगायतका सम्बन्धमा विभिन्न मिडियामा आएका समाचार एवम् कामदार तथा श्रमिक स्वयंबाट प्राप्त भएका गुनासाबारे मन्त्रालयले चासो देखाएको छ।
प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक र कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर गर्दै यी विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय समिति गठन भएको मन्त्रालयले जनाएको छ।
समितिबाट प्रतिवेदन प्राप्त गरेपश्चात यस प्रकारका निर्णयहरुको समीक्षा पश्चात थप निर्णय गरी कार्यान्वयनमा लगिने मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
Shares
प्रतिक्रिया