सेयरबजार आज ५.३१ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर १३४२.३६ विन्दुमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ९३ अंकले बढेको छ।
बजारमा आज कुल १ सय ७७ कम्पनीको ३२ लाख कित्ता सेयर बिक्री भएका छन्। बजार खुलेयता बन्द नहुन्जेल १२ हजार ४ सय ४० पटक खरिदबिक्री भएको हो। उक्त खरिदबिक्रीपछि १ अर्ब ८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज म्युचुअल फन्ड, ऊर्जा, विकास बैंक र उत्पादन समूहको कारोबार सूचक ओरालो लागे पनि वाणिज्य बैंक, व्यापार, होटल, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको सूचक उकालो लागेको छ।
कारोबार धेरै गर्ने कम्पनीमा आज सिभिल बैंक अगाडि छ। बैंकको १३ करोडको, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ६ करोड २३ लाखको, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ९० लाख, नेपाल इन्स्योरेन्स कम्पनीको ४ करोडको र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५७ लाखको सेयर कारोबार भएको छ।
त्यस्तै, धेरै कमाइमा भने आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि छ। कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्दा सेयरधनीले ९० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, सिभिल बैंकका लगानीकर्ताले पनि ८.७८ प्रतिशत कमाएका छन्। धेरै कमाउने तेस्रो लगानीकर्ता भने सिटिजन इन्भेष्टमेन्ट ट्रस्टका छन्।
उनीहरुले प्रतिकित्ता १ सय ६५ रुपैयाँ आम्दानी गरेका छन्। कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२५ प्रतिशत र रिलाइन्स फाइनान्सका सेयरधनीले पनि ४.९६ प्रतिशत कमाएका छन्। गुमाउने कम्पनीले आज ६.२५ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।
प्रतिक्रिया