जलविद्युत आयोजना निर्माण गर्दा कर्मचारी आवासको लागि बनाइएका ‘क्याम्प हाउस’लाई होमस्टेमा परिणत गर्दै हाइड्रो–टुरिजमको सम्भावनाका विषयमा छलफल भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र रैथाने एग्री प्रोडक्टस प्रालीले शनिवार आयोजना गरेको कार्यक्रममा नेपालमा हाइड्रो टुरिजमको प्रवर्द्धनका लागि आयोजनाका क्याम्प हाउसलाई होमस्टेमा परिणत गर्न सकिने विषयमा छलफल भएको हो।
कार्यक्रममा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले देश बनाउने हो भने ऊर्जा र पर्यटनलाई नै अघि बढाउनुपर्ने भन्दै दुवै विषय एकै ठाउँमा जोड्ने विषयमा इप्पानले सहयोग गर्ने बताए।
नर्वेले आयोजनाको बिजुली बेचेर भन्दा बढी टुरिजमबाट कमाइरहेको भन्दै नेपालमा पनि विभिन्न नदी करिडोरका आयोजनामा टुरिजम डेस्टिनेशन नै बनाएर काम गर्न सकिने उनको भनाइ थियो।
‘कति ठाउँमा सोलार आयोजना छन्, त्यहा रैथाने कृषि गर्न सकिन्छ। जलविद्युत आयोजना बनाउँदा धेरै आवास बनाएका हुन्छौँ, आयोजना सकिएपछि सस्तोमा सामान बेच्ने वा नस्ट गर्ने काम भइरहेको छ। हाइड्रो टुरिजमका लागि मिलेर काम गर्ने हो भने अब त्यसलाई होमस्टेमा परिणत गर्न सकिन्छ।’
पूर्वदेखि पश्चिमसम्म सयौं जातजाति भाषा धर्मका मानिसहरुसँग जलविद्युत प्रवर्द्धक जोडिएकाले उनीहरुको रैथाने उत्पादन र संस्कृति दुवैलाई बजारीकरण गर्न सक्ने कार्कीले बताए।
‘व्यापारी र युवा पलायन रोक्न पनि हामी संगठित रुपले अघि बढ्नै पर्छ। त्यसका लागि अझ बृहत छलफल गरौँ उनले भने।
पूर्वराजदूत उदय पाण्डेले आयोजनाको अध्ययन गर्दा नै ‘हाइड्रो टुरिजम’को योजना बनाउन सके नेपालमा पनि हाइड्रो टुरिजमबाट राम्रो आम्दानी गर्न सकिने बताए।
नेपाल पर्यटन र हाइड्रोपावर दुवैको लागि निकै राम्रो सम्भावना भएको देश भएकाले हाइड्रो र टुरिजम जोडिँदा यसले झनै धेरै राम्रो सन्देश दिने पाण्डेको भनाइ थियो।
‘कुलेखानीमा प्लानिङ सहित गरेको भए निकै राम्रो टुरिजम डेस्टिनेशन हुन्थ्यो। तर, अब बन्ने आयोजनामा टुरिजमको लागि संरचना डिजाइन गरौँ। आयोजनाको गाडी फर्किँदा उनीहरूका उत्पादन बजारसम्म ल्याइदिउँ। स्थानीयसँग आत्मियता बढ्छ, अवरोध हुने गतिविधि पनि कम हुन्छन्। यसले समग्रमै राम्रो गर्छ’ उनले भने।
रैथाने एग्री प्रोडक्ट्स प्रालीका अध्यक्ष तिलक ढकालले बिजुलीका लागि मात्र बनाइएको कुलेखानी जलाशययुक्त आयोजना अहिले गतिलो ‘टुरिस्ट डेस्टिनेशन’ भएको उदाहरण दिँदै टुरिजमका हिसाबले नै योजनाबद्ध रुपमा बनाएको भए नेपालमा पनि हाइड्रो टुरिजमबाट निकै राम्रो आम्दानी गर्न सकिने बताए।
उनले हाइड्रो टुरिजमले सबैभन्दा धेरै स्थानीय रैथाने उत्पादनलाई खपत गर्न सक्ने भएकाले इप्पानसँग सहकार्य गर्न चाहेको बताए।
‘हिमालको फेदमा बनेको हाइड्रोपावरको क्याम्पमा बस्दा त्यहीँको लोकल खानेकुरा खान पाइयोस्, चाउचाउ खान नपरोस्। यसका लागि इप्पान र रैथानेबीच सहकार्य गरौँ उनले भने।
इप्पानका महासचिव बलराम खतिवडाले जलविद्युत आयोजनाको निर्माण चरणमा धेरै आवास बनाउनुपर्ने र सञ्चालनमा आएपछि केही आवास मात्रै प्रयोगमा आउने हुँदा अब बनिसकेका त्यस्ता अवासलाई होमस्टेमा परिणत गर्न सकिने बताए।
इप्पानका सदस्य टिएन आचार्यले लाख र करोडबाट नभइ हजारबाट सुरु गरेर नै नेपालमा केही गर्न सकिन्छ भन्ने हो भने हाइड्रो टुरिजम र रैथाने उत्पादन निकै राम्रो अवसर हुने बताए।
नेपालमै केही गरौँ भन्ने सोचका साथ सुरु भएको रैथाने अहिले राष्ट्रिय अभियान भइसकेको अब एउटा टिम बनाएर रैथाने उत्पादनलाई कसरी बजारसँग जोड्ने? भन्ने विषयमा काम गर्न आफ्नो कम्पनीले रामेछापमा बनाइरहेको आयोजनाबाटै काम सुरु गर्न चाहेको उनले बताए।
बागमती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले प्रदेश सरकारले कृषिमा फरक किसिमको बजेट ल्याउन खोजेको बताउँदै किसानलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनु पर्ने बताए। कृषि, पर्यटन र हाइड्रोपावर जोडिनु सुखद कुरा भएको उनको भनाइ थियो।
नेपालको पहिलो आयोजना भनेर धेरै मान्छेहरु अहिले फर्पिङ जलविद्युत आयोजना हेर्न गइरहेको पनि उनले बताए।
कार्यक्रममा इप्पानका तर्फबाट कार्यसमिति सदस्य इन्जिनियर मिथुन पौडेल र रैथानेका तर्फबाट तिलक ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए।
इप्पान देशभरका करीब ५०० वटा जलविद्युत आयोजनाको प्रतिनिधि संस्था हो। इप्पानसँग आवद्ध १६० भन्दा धेरै विद्युत आयोजनाबाट २ हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ। रैथाने एग्री प्रोडक्टस प्राली ३ वर्षअघि स्थापना भएको स्थानीय रैथाने कृषि उत्पादनको बजारीकरणमा सघाउने संस्था हो।
प्रतिक्रिया