नेपाल वायुसेवा निगमका चार पाइलटहरुले राजीनामाको चेतावनी फिर्ता लिएका छन्। निगममा कार्यरत पाइलटहरुले पूर्वकार्यकारी अध्यक्ष मदन खरेललाई हटाउन र नेपाल भ्रमण वर्षलाई असर पार्न आफूहरुले राजीनामाको चेतावनी नदिएको भन्दै फिर्ता लिएका हुन्।
वायुसेवा निगमका निर्देशक दिपुराज ज्वारचनका अनुसार (यो समाचार तयार पार्दासम्म) चार जना पाइलटले राजीनामाको चेतावनी फिर्ता लिएका छन्। ज्वारचनले पाइलटहरु एनबी विश्वकर्मा, समाज कुमार श्रेष्ठ, राजेश कुसवाह र रवीन्द्र कुमार शेरचनले चेतावनी पत्र फिर्ता लिइसकेको बताए।
‘पारिश्रमिक वृद्धिको लागि उहाँहरुले कार्यकारी अध्यक्षको लागि पत्र लेख्नुभएको हो। यसलाई राजनीतीकरण गरियो भन्दै उहाँहरुले फिर्ता लिनुभयो’, उनले नेपालखबरसँग भने, ‘चिठी दर्ता भएसँगै प्रारम्भिक छलफल गरी समयसापेक्ष पारिश्रमिक हुनुपर्छ भन्ने कुरा राम्रो हो तर यसलाई नराम्रो प्रचार भएको भन्दै साथीहरुले फिर्ता लिनुभयो।’
उनले आन्तरिक हिसाबमा पाइलटहरुसँग छलफल गरी नयाँ कार्यकारी अध्यक्ष आएपछि पाइलटहरुको मागपत्र पेश गर्ने समझदारी भएको बताए। राजीनामाको समाचार बाहिरिएपछि कतिपयले तत्कालीन कार्यकारी अध्यक्ष खरेललाई हटाउन पाइलटहरुको राजीनामा पत्र आएको आशंका गरेका थिए। तर त्यसको पाइलटहरुले खण्डन गरेका छन्। उनीहरुले राजीनामा चेतावनी पत्रलाई राजीनामा नै दिएको भनेर दुष्प्रचार गरिएको नेपालखबरलाई बताएका थिए।
उक्त पत्रमा हस्ताक्षर गरेका वरिष्ठ पाइलट रवीन्द्र कुमार शेरचनले भने, ‘यो राजीनामा हैन, नेपाली र विदेशी पाइलटबीच लगातार भएको विभेदका विरुद्ध हामीले सामूहिक रुपमा आवाज मात्रै उठाएका हौँ।’
खरेललाई हटाउन राजीनामा पत्रको नाटक गरिएको हो कि भन्ने नेपालखबरको प्रश्नमा उनले त्यसलाई नकार्दै आफूहरुको माग सेवासुविधाका लागि मात्रै भएको स्पष्ट पारे। पत्र विवादित भए पनि उनले समेत राजीनामा चेतावनी फिर्ता लिइसकेका छन्।
पाइलटहरुले माघ ३ मै तयार गरिएको हस्ताक्षरसहितको पत्र बिहीबार मात्रै व्यवस्थापनमा दर्ता भएको थियो। व्यवस्थापनमा ११५६ नम्बरमा राजीनामा चेतावनी पत्र दर्ता भएको छ। यसअघि माघ ५ गते खरेलले राजीनामा दिएका थिए। सोही कारण खरेललाई हटाउन पाइलटलाई उचालिएको कतिपयको आशंका छ। पर्यटनमन्त्री योगेश भट्टराई पनि खरेलसँग असन्तुष्ट रहँदै आएका थिए।
पाइलट शेरचनले निगमका विदेशी पाइलटले मासिक १० देखि १३ हजार डलरसम्म तलब खाँदै आएको र कर पनि सरकारले नै तिरिरहेको बताए। तर नेपाली पाइलटका हकमा भने ४–५ हजार डलरमात्रै तलब रहेको र त्यसबाट पनि करकट्टी हुने गरी आफूहरुमाथि विभेद गरिएको उनको भनाइ छ।
‘हामीले हाम्रा मागहरु सम्बोधन नभए राजीनामा दिनसक्छौं भनेका हौँ। राजीनामै दिन्छौं भनेका छैनौं। तीन महिनापछि दिन पनि सक्छौं नगर्नपनि सक्छौं,’ उनले भने, ‘व्यवस्थापनमा चलखेल, भ्रमणवर्ष प्रभावित गर्न गरियो भन्ने गरी यसलाई दुष्प्रचार गरियो।’
निगमका २२ जना स्थायी दरबन्दीका पाइलटले सामूहिक राजीनामाको चेतावनी दिएका थिए।
निगमका प्रवक्ता गणेश बहादुर चन्दले पाइलटहरुले असन्तुष्टि पोखेको बताए। उनले भने, ‘उहाँहरुले असन्तुष्टिसहितको राजीनामा चेतावनी पत्र बुझाउनुभएको हो। यसको प्रक्रिया नयाँ एमडीले पदभार ग्रहण गरेपछि अघि बढ्छ।’
प्रवक्ता चन्दका अनुसार विदेशी पाइलट करारमा नियुक्त भएकाले १० देखि १३ हजार डलरसम्म तलब पाउँछन्। स्वदेशी स्थायी पाइलटले ५ देखि १० हजार डलरसम्म पाउँछन्। दुवैखाले पाइलटले उडानको आधारमा थपघट तलब बुझ्छन्।
प्रतिक्रिया