ad ad

कारोबार


उखु किसानलाई ८ करोड तिर्न छोडेर उद्योगमा ९१ करोड लगानी

उखु किसानलाई ८ करोड तिर्न छोडेर उद्योगमा ९१ करोड लगानी

दीपक भट्ट
माघ ९, २०७६ बिहिबार ११:५३,

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालको एभरेस्ट सुगर मिलले उखु किसानको ८ करोड भुक्तानी रोकेर उद्योगमा ९१ करोड लगानी गरेको छ।

एभरेस्ट सुगरले भदौ १ गते लगानी वृद्धिको प्रक्रिया टुङ्ग्याएको हो। उक्त उखु मिलले ९१ करोड १ लाख रुपैयाँ वृद्धि गरेको हो। यो उद्योगले हालसम्म पनि उखु किसानको ७ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

उखु मिल उद्योगहरुको संगठन चिनी उत्पादक संघका अध्यक्ष अग्रवालले नै किसानको बक्यौता कायम राखेर उद्योग विस्तारमा लगानी गरेको पाइएको छ। एभरेस्ट सुगरको यो संगै कुल लगानी २ अर्ब १६ करोड पुगेको छ। योभन्दा अघि १ अर्ब १७ करोड मात्रै लगानी थियो।

लामो समयदेखि उखु किसानको भुक्तानी दिन नसक्ने चिनी मिलहरुले उद्योगमा भने लगानी विस्तार गरिरहेका छन्। चालू आर्थिक वर्षमा मात्रै चिनी मिलहरुले १ अर्ब १८ करोड ५१ लाख रुपैयाँ लगानी थपेका छन्।

लामो समयदेखि उखुको भुक्तानी नपाएपछि किसानले आन्दोलन गरहिरहेका छन्। तर, मिलमालिक भने किसानलाई उखुको मूल्य तिर्न छोेडेर नयाँ उद्योगमा लगानी थपिरहेका छन्।

चालू आर्थिक वर्षमा लगानी वृद्धि गर्ने उद्योगमा इन्दु शंकर चिनी उद्योग लिमिटेड पनि छ।

इन्दु शंकर चिनी उद्योग लिमिटेडले साउन ७ गते लगानी विस्तारको काम सकेको छ। जसअनुसार यो उखु मिलले गत वर्ष २७ करोड ५० लाख रुपैयाँ लगानी विस्तार गरेको हो। यो मिलको यसअघि १ अर्ब १९ करोड लगानी रहेको थियो। यी दुई ठूला मिलको रुपमा परिचित छन्। यो मिलले किसानको बक्यौता बाँकी राखेको छैन।

किसानहरुले राजधानीमा नै आएर आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा माघ पहिलो हप्तासम्म किसानको भुक्तानी उपलब्ध गराइने सहमति भएको थियो। तर पहिलो हप्तासम्म केही उद्योग सम्पर्कमा नै आएनन् भने केहीले भुक्तानी दिन आनाकानी गरिरहेका छन्। सम्पर्कमा नै नआउने लुम्बिनी चिनी उद्योग, अन्नपूर्ण सुगर एन्ड जनरल प्रालि र इन्दिरा सुगर एन्ड एग्रो प्रालिको बैंकखाता रोक्का राख्ने निर्याय सरकारले गरिसकको छ।

हाल सम्म बक्यौता रहेका उद्योगहरुमा महालक्ष्मी सुगर्सको १० करोड रुपैयाँ छ। अन्नपूर्ण सुगर एन्ड जनरल र इन्दिरा सुगर एन्ड एग्रो प्रालि उद्योगका सञ्चालक राकेश कुमार अग्रवाल हुन्। उनका यी दुई उद्योगको बक्यौता ३८ करोड रुपैयाँ छ।

लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। त्यस्तै श्रीराम सुगर मिल्सको २६ करोड ७७ लाख ७८ हजार ६ सय २३ बक्यौता भुक्तानी बाँकी रहेकोमा किसानसँग सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ। यस्तै बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाँडसारी मिल्स प्रालि सम्पर्कबिहीन भएका छन्। यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैयाँ बक्यौता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .