खरको छानो र काठका बाकलले घेरिएको छ- पदमलाल विश्वकर्माको आरन। टाढाबाट हेर्दै झट्ट देखिन्छ- आरन। उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री पनि।
बिहानको खाजापछि उनको दिनचर्या हुन्छ- फलामसँग जुध्ने। मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदललाल ७७ वर्षका भए। तेह्र वर्षको उमेरदेखि पुर्ख्याैली पेसा अँगालेका पदमलालको ६ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितिसकेको छ।
गाउँघरमा खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएपछि आरन पेसा सङ्कटमा पर्न थालेको पदमलालले बताए। तेह्र वर्षको कलिलो उमेरदेखि आरनमा काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताए। पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टर प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा सङ्कटमा पुग्न थालेको पदमलालको भनाइ छ।
‘आरनबाट जीविकासमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउदैनन्। पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ’, उनले भने, ‘अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ। पुर्ख्याैली पेसा भएकाले पनि छाड्न मन लाग्दैन।’ आफूले अरु काम नजानेको र बाबु-बाजेले पनि यही काम गरेकाकाले यसलाई नै निरन्तरता दिएको उनको भनाइ छ।
पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्छन्। पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगो हुँदा काममा अप्ठ्यारो भएको उनले बताए। पहिले-पहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाए।
‘आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ। गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले। तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ’, उनले भने, ‘बजारमा फलामका काम गर्ने ग्रिल उद्योग खुलेका छन्। त्यसैले पनि आरन आउन छाडेका हुन्।’ प्रविधिको विकाससँगै पेसा बदल्न नसक्दा गाउँका कतिपयले आरन बन्द गरेर अन्य पेसा गरिरहेको उनले सुनाए।
Shares
प्रतिक्रिया