ad ad

कारोबार


‘संस्कृति र प्रकृति छ भन्दैमा पर्यटक आउँदैनन्’

‘संस्कृति र प्रकृति छ भन्दैमा पर्यटक आउँदैनन्’

नेपालखबर
माघ ५, २०७६ आइतबार १५:०,

संस्कृति र प्रकृति छ भन्दैमा नेपालमा पर्यटक आउँछन भन्ने विश्वास गर्न नहुने विज्ञहरुले बताएका छन्।

आइतबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा पर्यटन विज्ञहरुले पर्यटकीय पूर्वाधारको विकास नगरिकन संस्कृति र प्रकृतिको भरमा मात्र पर्यटन वर्षको घोषणा गरिएको बताएका हुन्।

पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठले नेपालमा संस्कृति र प्रकृति छ भन्दैमा पर्यटनको विकासको सम्भावना छ भन्नु गलत हुने बताए। उनले संस्कृति र प्रकृति पर्यटनको लागि सुरु विन्दु भएकोले त्यस क्षेत्रमा आकर्षण गर्न मनोरन्जनात्मक पूर्वाधारको विकास गर्नुपर्ने बताए।

उनले भने, ‘पहिलो प्रश्न नेपालमा पर्यटनको सम्भावना छ की छैन? कसले छैन भन्छ, किन छ भन्छ भने सगरमाथा छ, लुम्बीनी छ जनकपुर छ हाम्रोमा के छैन। तर मलाई सोध्नुभयो भने म छैन भन्छु। त्यो कसरी सुरु गर्छ भन्ने संसारमा पर्यटन विकास र पर्यटन गन्तव्य हेर्नुहोस समुन्द्रमा छैन की पहाडमा छैनकी जंगलमा छैनकी मरुभुमिमा छैन की कहाँ छैन्। जस्तोसुकै ठाउँमा पनि पर्यटन विकास भएको हामी पाउँछौं। तसर्थ हामीकहाँ संस्कृति र प्रकृति छ भन्दैमा पर्यटनको विकासको सम्भावना छ भन्नु गलत हुन सक्छ। त्यसकारण त्यो सुरुको विन्दु हो। त्यसलाई पर्यटकीय उपज र बिजनेसमा प्रस्तुत गर्नको लागि त्यतिले पुग्दैन। सगरमाथा पहिला पनि थियोे, अहिलेपनि छ पछिपनि हुन्छ। पहिला पर्यटक थिए अहिले पनि छन भोलिपर्सि हुन्छ कि हुँदैन। तसर्थ त्यो भौतिक वस्तुहरु जहाँजहाँ जे जे छ त्यसमा गतिवधिहरु कस्ता गतिविधि मनोरन्जनात्मक गतिविधिहरु विकास गर्न सक्छौं की सक्दैनौं दोस्रो प्रश्न हो।’

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका प्रध्यापक सागरराज शर्माले सुखि नेपाली निर्माणमा पर्यटनको योगदान नरहेको बताए। उनले पर्यटन क्षेत्रले समृद्ध नेपालमा केही सहयोग गरेपनि सुखि नेपाली निर्माणमा सहयोग पु¥याएको छ कि छैन अध्ययनको विषय भएको बताए। त्यस्तै प्रध्यापक शर्माले भिजिट नेपाल २०२० भनेपनि यो एकवर्ष मात्र सिमित नहुने भएकाले सरकारले दिर्घकालिन योजना बनाएर पर्यटनको विकास र प्रवद्र्धन गर्नुपर्ने बताए।

पर्यटन व्यवसायीहरुले भने नेपाल पर्यटनका लागि महँगो मुलुक भएको बताएका छन्। पर्यटन व्यवसायी डा. लेखनाथ भण्डारीले नेपालका कतिपय ठाउँको भ्रमण गर्न लाग्ने टिकेट नै महँगो भएको बताए। उनले पर्यटकहरु वस्तुको मूल्यका कारण पनि निरुत्साहित हुने गरेको बताए। उनले ३ सय रुपैयाँ पर्ने वस्तुलाई ३ हजार रुपैयाँमा विक्री गर्दा पर्यटकहरुले ठगिएको महसुस गर्ने भएकाले सरकारले पर्यटकलाई विक्री गर्ने वस्तुमा आचारसंहिता जारी गर्नुपर्ने बताए।

पर्यटन व्यवसायी ईरा प्रसाईले सरकारले पर्यटन व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धका लागि सहयोग नगरेको बताइन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन पूवार्धारको विकासमा सरकारले तिब्रता दिएको बताए। उनले नेपालमा सबै सिजनमा पर्यटनको अवसर भएकाले पनि पर्यटनको विकासको सम्भावना उच्च रहेको बताए।

मन्त्री भट्टराईले नेपालमा जस्तो सुरक्षित पर्यटन दुनियाँमा कहिं नभएको दावी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .