ad ad

कारोबार


रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार ११:७, काठमाडौँ

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। 

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारीसाधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ’, प्रवक्ता भट्टले भने। यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गर्ने गरिएको थियो। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा सञ्चालन गर्ने गरी यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए। ‘रात्रिबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ती छैन, रातको समयमा व्यवस्थितरुपमा चढाउने/झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ’, उनले भने। 

अध्यक्ष स्वाँरले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढङ्गले चढाउने/झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले ट्राफिक जरिवना रकम रु पाँच सयबाट बढाएर रु एक हजार पाँच सय बनाएको भन्दै आपत्ति जनाए। यातायात क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ छ। 

विसं २०५६ मा काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारीसाधन अटाउँछन्। उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत भइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .