ad ad

कारोबार


व्यवसायी नै भन्छन्ः नेपालको यातायात पशुपतिनाथको कृपाले चलेको छ

व्यवसायी नै भन्छन्ः नेपालको यातायात पशुपतिनाथको कृपाले चलेको छ

बसन्त अर्याल
पुस २, २०७६ बुधबार ११:१०,

तीन दिनअघि दोलखाबाट भक्तपुरतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो भने १८ यात्रु घाइते भए। यो आइतबारको कुरा हो।

त्यसको भोलिपल्टै चितवनको लोथरमा ट्रक ठोक्किँदा एक जनाले ज्यान गुमाए। उक्त घटनामा तीन जना घाइते भए। उक्त दुईवटा प्रतिनिधि दुर्घटनामात्रै हुन्। नेपालमा दिनहुँ सडक दुर्घटना हुने गरेको छ। प्रत्येक दुर्घटनमा मानिसहरुले ज्यान गुमाउने, अंगभंग हुने अवस्था भोग्ने गरेका छन्।

किन भइरहन्छ सडक दुर्घटना?
मानवीय कमजोरीको कारण नेपालमा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन्। त्यसमा भौतिक र मानवीय क्षति हुने गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको चार महिनामा ९ सय २१ जनाको सडक दुर्घटनामा मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

bus kavre accident 1आइतबार बिहान सिन्धुपाल्चोकमा पल्टिएको बस।

सडक दुर्घटना कुनै एउटा निकायको कारणले मात्रै हुँदैन। यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीको मुख्य भूमिका रहेको हुन्छ। तर कुनै पनि निकाय आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन्। एउटा निकायले अर्को निकायलाई दोष दिएर पन्छिने गरेका छन्।

सडकको कारण मात्रै दुर्घटना भएको भन्न मिल्दैन : केशव कुमार शर्मा (सडक विभाग)
सडक विभागका महानिर्देशक केशव कुमार शर्मा सडकको कारणले मात्रै दुर्घटना नभएको बताउँछन्।

‘सडक विभागले मात्रै दुर्घटना न्यूनीकरण गर्छु भनेर सक्दैन’, उनले भने, ‘यसमा यातायात व्यवसायीको पनि मुख्य भूमिका हुने बताए।’ उनले व्यवसायीले जस्तो पनि गाडी कुदाउँदा दुर्घटना हुने गरेको बताए।

सरकार मुख्य दोषी : सरोज सिटौला (यातायात व्यवसायी)
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने महानिर्देशक केशव कुमार शर्माको कुरामा सहमत छैनन्। ‘सरकारले राम्रो सडक नबनाउँदा बढी दुर्घटना भइरहेको हो’, उनले भने, ‘यसको मुख्य दोषी सरकार हो।’

उनले सरकारले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाए। ‘कुनै पनि सडक विना योजना बनाउँदा दुर्घटना हुने गरेको छ’, उनले भने, ‘नेपालको यातायात क्षेत्र पशुपतिनाथको कृपाले चलेको छ।’

महासचिव सिटौलाले सरकारले चालक उत्पादन गर्न कतै लगानी नगरेको बताएका छन्। उनले भने, ‘एउटा डाक्टरको सानो मिस्टेकले एउटा बिरामीको मृत्यु हुन्छ भने एउटा ड्राइभरको सानो मिस्टेकले ५० भन्दा बढीको मृत्यु हुन्छ।’

महानिर्देशक शर्मा भने सरकारले यातायात क्षेत्र सुधारको लागि थुप्रै काम गरेको बताउँछन्। ‘पहिला सुर्खेतका सडकमा सधैँ दुर्घटना हुन्थ्यो, अहिले कम भएको छ। मुग्लिङ–नारायणगढ सडकबाट गाडी त्रिशूलीमा खसेको सुन्थ्यौं, सडक निर्माणपछि दुर्घटना शून्य जस्तै भएको छ’, उनले भने, ‘दुर्घटना न्यूनीकरणको लागि सडकको किनारामा ‘क्रश बेरियर’ राखेका छौं ।’

उनले ८३ हजार सडकमध्ये १५ हजार मात्रै सडक विभागअन्तर्गत रहेको बताएका छन्। ‘आफ्नो मातहतमा रहेका सडकमा दुर्घटना न्यूनीकरण गर्ने संकेत रेलिङ, ऐना राखेका छौं।’

दुर्घटना न्यूनीकरणको लागि यात्रु सचेतना आवश्यक
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले ट्राफिक जनशक्ति कम हुँदा नियमन गर्न गाह्रो भएको बताए। उनले सबै ठाउँमा प्रहरी नभए पनि यात्रु आफैँ सजग हुनुपर्ने बताए।

‘उपत्यकामा मात्रै करिब १३ लाख गाडी गुडिरहेका छन्। एक ट्राफिक प्रहरीको भागमा हजार गाडी पर्छ। एकैपटक सबैलाई ट्राफिकले हेरेर सक्दैन’, उनले भने, ‘ट्राफिक सचेतना कम हुँदा बढी दुर्घटना हुने गरेको छ।’

उनले यात्रा गर्दा गाडी स्पिडमा भए ड्राइभरलाई भन्ने वा ट्राफिक प्रहरीलाई सम्पर्क गर्नुपर्ने सुझाए। ‘ड्राइभरले मापसे गरेर पो गाडी चलाएको छ कि ? तीव्र गतिमा छ कि ? जथाभावी ओभरटेक गरिरहेको छ कि ? भन्ने यात्रुले ख्याल गर्नुपर्छ’, उनले भने ।

दुर्घटना हुनुका मुख्य कारण
८३ किलोमिटर हजारभन्दा बढी सडकमा मात्रै १४ हजार किमि मात्रै पिच भएको छ। ग्रामीण सडक इन्जनियरिङविना बनाएकाले गाडी गुड्न उपयुक्त छैनन्। तर ट्र्याक खोल्न नपाउँदै स्थानीयको प्रेसर तथा यातायात व्यवसायीको लोभले पनि दुर्घटना हुने गरेका छन्।

नक्कली चालक अनुमतिपत्रका कारण पनि दुर्घटना रोक्न कठिन भइरहेको छ। कुन ठाउँमा कस्तो गाडी कुदाउने सरकारले कुनै मापदण्ड नै बनाएको छैन। व्यवसायीलाई फाइदा हुने सडकमा गाडी थुप्रिएका छन्। गाडीको अवस्था कस्तो छ भन्ने चेकजाँच गर्ने फिटनेस सेन्टर नहुँदा पनि दुर्घटना हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .