भक्तपुर गुन्डुकी राधा थापा हातमा सियो र धागो लिएर मखमली माला उन्दै थिइन्। एकाएक जमिन हल्लियो। उनी बसिरहेको घरका झ्याल ढोका जोडजोडले खट्खटाए। उनी बसेको ठाउँबाट उठेर दौडिइन्। ज्यान बचाउन दगुर्दा पनि उनको हातबाट मखमली, सियो र धागो झरेका थिएनन्। राधाले यसरी मखमलीलाई माया गर्न थालेको चार वर्ष भयो।
अहिले मखमली फुलिरहेको खेतको गरामा चार वर्ष अघिसम्म धान झुलेका हुन्थे। वरपर केही महिलाले भने मखमलीको व्यापार गरेर आयआर्जन गरिरहेका थिए। राधाको मन लोभियो। उनले पनि मखमली खेतीको सुरुवात गरिन्। पहिलो वर्ष ठिकै आम्दानी भयो। त्यसयता उनले मखमलीको व्यापार छोडेकी छैनन्।
यो वर्ष उनले ५० हजार आम्दानी गरिन्। यसपटक मखमली खेतीमा राधा एक्लै खट्न सकिनन्। तीन जना खेतालासँग लागेर खेती लगाइन्। गोडमेल, मल लगायतमा राधाको झण्डै ७ हजार खर्च भयो। टिप्ने बेला पनि उनले एक्लै टिप्न भ्याइनन्, खेताला लगाइन। यो सहित मखमली उत्पादनमा राधाको १० हजार खर्च भयो। उनले यो वर्ष मखमली खेतीमा गरेको लगानी यति नै हो। अझै केही दिनपछि एक छिमल मखमली निस्कने राधा बताउँछिन्। धेरथोर त्यो लटमा पनि आम्दानी हुन्छ। राधा भन्छिन्, ‘धानमा भन्दा धेरै नाफा देखेरै धान मासेर मखमली रोपेकी हुँ।’
असारको पहिलो साताबाटै मखमली मालाको बिक्री सुरु हुन्छ। असारतिर उनिएका माला भने विदेश निर्यात हुन्छन्। रोजगारीका सिलसिलामा विदेश पसेकाहरुले माला मगाउँछन्। त्यसपछि व्यापारी राधाको बारीमा पुग्छन्। राधा माला गाँस्छिन् र विदेशमा पठाउँछिन्। दसैँ सकिएपछि भने नेपाली बजारमै मालाको बिक्री सुरु हुन्छ।
राधा बिहान मखमली टिप्छिन्, दिनभरि माला गाँस्छिन्। बजार खोज्दै हिँड्नु पर्दैन, व्यापारी घरमै उनले भनेको मूल्य तिर्न पुग्छन्। राधा माला हरेर मूल्य राख्छिन्। कुनै माला प्रतिगोटा २० रुपैयाँ मूल्य लगाउँछिन्, कुनैको मूल्य ३० रुपैयाँसम्म पनि पुग्छ। भन्छिन्, ‘मखमली खेतीले मेरो जीवन फेरिएको छ। आफ्नो सानोतिनो खर्चका लागि अरुसँग हात फैल्याउनु पर्दैन।’
२४ वर्षअघि काभ्रेको पनौतीबाट विवाह गरेर गुन्डु पुग्दा त्यहाँको पाखोको स्वरुप अर्कै थियो। कसैकसैका बारीमा मात्रै फूल फुल्थे। धेरै आफ्नो घरमा मात्रै प्रयोग गर्थे। मखमली रोपेर पनि आयआर्जन गर्न सकिन्छ भनेर त्यहाँका कसैले पनि कल्पना गरेकै थिएनन्।
गुन्डुमै मखमली बेचेर विमला विष्टले सुन्दर जीवन बाँच्न थालेको १५ वर्ष भयो। विमलाले पनि १५ वर्षअघिसम्म आफ्नो बारीमा मकैभटमास लगाउँथिन्। त्यतिबेला भर्खरै गाउँका महिलाहरुले थोरै मात्रामा मखमली खेती सुरु गरेका थिए। विमलालाई भने मकै फल्ने खेतमा फूल रोप्ने हिम्मत पलाएकै थिएन। भर्खर जेठी बुहारी भित्रिएकी थिइन्। त्यहीबेला उनका श्रीमानको मृत्यु भयो। घर खर्चमा टार्न कठिन थियो, झन् कठिन भयो। विमलाकी बुहारीले भनिन्, ‘आमा हामी पनि मखमली खेती गरौँ।’ उनले पनि सहमति जनाइन्। अनि सुरु भयो विमलाको मखमलीमा जीवन उन्ने सिलसिला। अहिले पनि उनी मालाभरि आफ्ना खुसी उनीरहेकै छिन्।
विमलाले मखमली खेती सुरु गर्दा अहिले जस्तो व्यापार थिएन। बजार थिएन। बजारसम्म पुग्ने बाटो थिएन। गाडी चढ्न पनि सूर्यविनायक चोक पुग्नु पथ्र्यो। विमला बुहारीसँग मिलेर दिनभरि मखमली टिप्थिन्, रातभरि माला गाँस्थिन् र उज्यालो नहुदै सूर्यविनायक चोकबाट गाडी चढेर कालिमाटी पुग्थिन्। भक्तपुर, त्रिपुरेश्वर लगायतका बस्तीमा माला बोकेर हिँड्थिन्। कहिले डोकोभरिका माला व्यापारीले झ्याप्प राख्थे, कहिले दिनभरि बस्दा पनि माला सकिँदैनथ्यो। साँझ पर्न लागेपछि सस्तैमा माला ग्राहकलाई बुझाएर घर फर्किन्थिन्। कहिले डोकोको पिँधमा केही थाना माला विमलासँगै साँझ घर फर्किन्थे। त्यतिबेला उनले ५ रुपैयाँ गोटा पनि माला बेचिन्।
त्यतिबेला महिलाहरुले पैसा खेलाउन पाउँदैनथे। विमला पुराना दिन सम्झँदै भन्छिन्, ‘हामी आइमाइले सानो आवश्यकता पनि लोग्नेहरुलाई भन्नु पथ्र्यो। आइमाइका हातमा कहाँको पैसा हुनु! तर मखमलीले हाम्रा हातमा पनि पैसा दिलायो। हाम्रो जीवन र समाजको साच परिवर्तन भयो।’
विस्तारै गाउँमा मखमली खेती गर्ने महिलाको संख्या बढ्दै गयो। पुरुषहरुले पनि साथ दिए। विमलाहरुका मालाले मूल्य पाउन थाले। हिजोआज उनीहरुका माला खोज्दै व्यापारी गुन्डु पुग्छन्। विमलाले मखमलीको डोको बिसाएको ८ वर्ष जति भयो। उनका २ बुहारी पनि सिजनमा मखमली लगाउँछन्। अहिले विमला बुहारीहरुलाई सघाउँछिन्। राम्रो आम्दानी छ।
यो वर्ष पनि मखमलीले झण्डै २ लाख रुपैयाँ विमलाको घरमा भित्र्ययो। अझै उनको बारीमा ढकमक्क फूल फुलेकै छन्। असारबाट सुरु भएको मखमलीको व्यापार पछिल्ला वर्ष छठसम्म हुन्छ। विमलाका सासूबुहारीको दैनिकी निकै व्यस्त हुन्छ। भन्छिन्, ‘बुहारीहरु पनि जागिरे जस्तै भएका छन्, बिहानभरि फूल टिप्छन् दिनभरि गाँस्छन्।’
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमलीले मगमगाउन थालेको २० वर्ष भया। तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त हुन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी तथा धान खेतका आली छपक्क छोपेर मखमली फुलेका छन्। कतैकतै सयपत्री र गोदावरीको सुगन्ध पनि मिसिन्छ। यहाँका किसान मखमलीका माला बेचेर वर्षेनि मनग्य आम्दानी गर्दै आएका छन्।
यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्। मालासँगै त्यस क्षेत्रको प्रचार भएपछि केही वर्षदेखि माला किन्नेसँगै फोटो खिच्न जानेहरुको पनि बाक्लो उपस्थिती हुन्छ। त्यसलै पनि त्यस क्षेत्रका महिलाहरु बिहान फूल टिप्छन्, दिउँसो २ बजेसम्म बाटोछेउको पाटीमा बसेर सामूहिक रुपमा माला गाँस्छन्। उनीहरुले यसरी सामूहिक रुपमा माला गाँसेको फोटो खिच्न जानेहरुले उनीहरुलाई खोज्दै खेतबारीमा धाउनु नपरोस् भनेर हो। दिउँसो दुई बजेपछि भने उनीहरु आ–आफ्ना घरमा गएर आफ्नै हिसाबले माला गाँस्छन्।
गुन्डुका किसानहरु एक–अर्कामा अर्मपर्म गरेर मखमली खेती गर्छन्। तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या छैन। विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठिक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै किनेर लैजाने भएकाले पनि बजारको समस्या नभएको फूल व्यवसायी अनिता बस्नेत बताउँछिन्।
उनीहरुले फूलको व्यापार भने गरेका छैनन्। व्यापारीहरु पनि माला नै लैजाने गर्छन्। तिहारमा घर सजाउन होस् अथवा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न मखमली फूलको प्रयोग गरिन्छ। भक्तपुरको गुन्डुलगायत काठमाडौं उपत्यकाका इचंगुनारायण, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा मखमलीको व्यवसायिक खेती हुँदै आएको छ। नेपालमा हरेक तिहारमा सयपत्री आयात गर्नु परे पनि मखमली भने निर्यात हुने गरेको छ। नेपालीहरू बस्ने अस्ट्रेलिया, युरोपलगायत खाडीका केही देशमा मखमली माला निर्यात गर्ने गरेको नारायणी खत्रीले बताइन्।
मखमली रोपेको दुई महिनामा माला गाँस्न तयार हुने गरी फुलिसक्छ। गुन्डुका स्थानीयहरु वैशाखमा रोपेको मखमलीको माला असारबाटै उन्न थाल्छन्। विशेषगरी यहाँका महिलाको जीवन मखमलीले निकै सहज भएको स्थानीय बताउँछन्। यहाँका फूल किसान प्रायः महिला छन्। व्यवसायिक रुपमा खेतबारीमा फूल नरोपे पनि यहाँ प्राय महिलाले एक सिजनमा फूलबाट १०÷१५ हजार कमाएका हुन्छन्। थोरै आम्दानी गर्नेहरुले खेतबारीमा नभई खेतका आलीमा फूल रोपेका छन्।
Shares
प्रतिक्रिया