ad ad

कारोबार


अर्बपति विनोद चौधरी भन्छन्,‘नेपालमा उद्योगीभन्दा फरक विधाका मान्छे धनी!’

अर्बपति विनोद चौधरी भन्छन्,‘नेपालमा उद्योगीभन्दा फरक विधाका मान्छे धनी!’

वाशुदेव मिश्र
मंसिर २९, २०७६ आइतबार १३:४२,

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले नेपालमा आफू र अन्य उद्योगीभन्दा फरक विधाका व्यक्ति नै धनी भएको जिकिर गरेका छन्। पोखरामा जारी नेपाल साहित्य सम्मेलनअन्तर्गत आइतबार नेपाली बजारको विश्वव्यापीकरण विषयमा पत्रकार प्रतिक प्रधानसँग गफिँदै उनले भने, ‘उद्योगीको पैसा त उद्योगमा लगाए हुन्छ, यहाँ कहाँ राखौँ भन्ने छ, यहाँ उद्योगीभन्दा विभिन्न विधाका मान्छे धनी छन्।’

फोर्ब्सले आफ्नो पैसा मात्रै गनेर आफूलाई अर्बपतिको पहिचान नदिएको उनको भनाई थियो। अर्बपतिको पहिचानपछि चुनौतिहरु बढेको उनले स्वीकारे। अर्बपतिमा सूचिकृत हुन आफ्नी श्रीमतीले हौस्याएको उनले सुनाए।

चौधरीले आफ्ना विश्वभर फैलिएको व्यापारिक संरचनामा नेपाली झण्डा फहराउने उद्घोष गरेका छन्। उनले आफ्नो पहिचान नै नेपाली भएकोले आफ्नो मुख्य कार्यालय नेपालमा राखेको बताए। ‘मेरो पहिचान भनेको नेपाल नै हो’, उनले भने, ‘हामीले केही समयअघि काजाकिस्तानमा वाईवाई सुरु गर्‍यौँ। त्यहाँ उनीहरुको झण्डा फहराउनु पर्ने थियो, हामीले नेपालको भण्डा फर्फरायौँ। दुबईको ताज होटलमा त्यहाँको झण्डा फहराउनु पर्थ्याे, हामीले नेपालको भण्डा फहरायौँ। त्यहाँ हाम्रो स्वामित्व हुँदासम्म झण्डा फहराउँछौँ।’

उनले नेपालीले विदेशका लगानी गर्न नपाउने कानूनी व्यवस्थालाई भने अनावश्यक भएको जिकिरि गरे। ‘म पनि कानून निर्माता हो तर त्यहाँ आए न बनाउने हो। आफूले कर तिरेको पैसा लगानी गर्छु भन्छ भने दिनुपर्छ। नेपालमा र विदेशमा लगानी हुनु फरक कुरा हैन’,उनले भने, ‘विदेशमा भएका नेपालीहरुको पूँजी नेपाल फर्कनुपर्छ।’

आफूले नेपालमा बसेर एउटा आर्किटेक्टरले, एउटा संगीतज्ञले यहाँबाट विश्वभर काम गरेको देख्न चाहेको बताए। उनले अहिलेका युवाहरुसँग अवसर नै अवसर भएको बताउँदै अगाडि भने,‘कनेक्टेड टेक्नोलोजी बाउण्डमा कुनै पनि लिमिटेसन छैन। ज्याक माले ३२ वर्षको उमेरमा कम्प्युटर छोएर विश्वकै ठूलो व्यापार गर्न सक्छ, स्वीपर हुँदै गर्दा ह्वाटस्अप बनाउन सक्छ।’

उनले उद्यमशीलताको लागि नेपालीहरु लघुताभाषबाट बाहिर निस्कनु पर्ने पनि सुझाए। ‘पछिल्लो १५ वर्षमा विश्वमा बनेका ब्राण्डहरु कुनै व्यापारिक पृष्ठभूमिबाट आएका हैनन्। अमेरिकामा बसेको डाक्टरले नेपालमा अप्रेसन गर्न सक्छ। हरेक युवा उद्यमी बन्नुपर्छ’, उनले भने,‘सक्नुहुन्छ भने आफू उद्यमी बन्नुहोस् नभए अर्को उद्यमीको पछि लाग्नुहोस्। राजनीतिलाई पनि उद्यमी बनाउनुपर्छ भन्ने हो। उद्यमशीलता भनेको सोच हो, व्यवस्थापन हो।’

उनले नेपाल आफैमा एउटा विश्वमा सकारात्मकपन भएको ब्राण्ड भएको बताउँदै यो ब्राण्डसँग ट्रेकिङ, बुद्ध, सगरमाथा, पशुपतिनाथसँग गाँसिएको बताए। उनले नेपाल विश्वभरका मान्छे आउन खोज्ने पाँच मुलूकमध्ये एक भएको पनि बताए। उनले अहिलेको विश्व नै जोडिएको बताउँदै नेपालबाटै विश्वमा नयाँ कृतिहरु उत्पादन गर्न र त्यसलाई विश्वभर पुर्‍याउन सक्ने धारणा राखे।

‘मैले एउटा ठूलो सपना देखेँ । ब्रिटेनिया, पार्लेले बजार खाएको बेला, उताको सामान यता आउँछ भने यताको सामान किन जान सक्दैन भन्ने कुरा आयो। भारतमा पशुपति बिस्कुटको ब्राण्ड बन्यो’, उनले भने,‘तपाईँले वाइवाईको कुरा गर्नुभयो, ४० वर्षको यात्रा हो। पशुपति बिस्कुटबाट सिकेको यात्रालाई विश्वभर पुर्‍याउन सक्छौँ भन्ने दृष्टिकोणबाट अघि बढ्यो। अहिले संसारको ८० प्रतिशत विश्वको क्षेत्रमा गएको छ। व्यापार बढेको छ त्यो दिन टाढा छैन कि नेपालको वाइवाई सिजीको वाइवाई विश्वकै चिनिएको ब्राण्ड हुनेछ।’

उनले पोखरा विश्वव्यापीकरणको बाटोमा लागेको बताउँदै यहाँ बन्दै गरेको एयरपोर्ट पूर्वाधार मात्रै नभएर सम्भावना पनि हो भने। ‘एयरपोर्टका ढोका खोल्न सक्यौँ भने, एयरलाइन्सको माध्यमबाट बाहिर जान सक्ने श्रृृंखला हुन्छ। हरेक पटक पोखरा आउँदा झन सुन्दर लाग्छ’, उनले भने, ‘पोखरालाई प्रदुषणले अझै छुन सकेको छैन। यो नेपालको त हो नै दक्षिण एसियाको नै सुन्दर ठाउँ हो। हामी हस्पिटालिटीको क्षेत्रमा छौँ। एउटा राम्रो रिजोर्ट बनाउने सोचमा छैं। हाम्रो हस्पिटालिटीको ग्लोबल हेडक्वार्टर नै पोखरा बनाउँछौँ।’

बिजनेस क्षेत्रको राजनीतिसँग कस्तो सम्बन्ध हुनुपर्छ? भन्ने प्रश्नमा उनले हाम्रोजस्तो देशमा हामीले चाहे पनि नचाहे पनि राजनीतिले नै प्रभावित गर्ने बताए। ‘राजनीतिलाई बदल्नु छ भने प्रभाव पार्नु छ भने कार्यशैलीमा परिवर्तन आउनुपर्छ’, उनले भने, ‘आफूले बोलेका कुरा पुर्‍याउनको लागि राजनीतिमा प्रभाव पार्नुपर्छ। जबसम्म राजनीतिबाट लिने हैन दिने जमात ठूलो हुँदैन तबसम्म राजनीतिमा परिवर्तन हुँदैन।’

उनले व्यक्तिगत सम्बन्धले सफलता हात लाग्ने बताएका छन्। 'यहाँ उद्योगीलाई त लगानी गर्ने मेरो सफलतालाई म पर्सनल रिलेसनको कारण पनि मान्छु। सफल हुन सही ठाउँ र सही व्यक्तिसँग हुनुपर्छ। त्यो भनेको नेटवर्क नै हो। सही किसिमको सुझाव आवश्यक पर्छ, त्यो राजनीतिक पनि हुनसक्छ, अन्य पनि हुन सक्छ।’

उनले आफू राजनीतिमा भए पनि अल्पमतमा भएको बताउँदै आफू पटक्कै सन्तुष्ट नभएको पनि खुलासा गरे। ‘एउटा ठूलो जमातको आवश्यकता पर्छ। राजनीति भनेको संख्यात्मक खेल पनि हो’, उनले थपे,‘ त्यहाँ (सदनमा ) ठेकेदार पनि पुगे होलान्, उनीहरुले के सोच राखे उनीहरुलाई नै सोध्नुहोस्। हामीले जस्ता मान्छे छान्छौँ, त्यस्तै सरकार बन्छ।’

उनले वाईवाईलाई न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत गरेपछि मात्रै अर्को कुरा सोच्ने दोहोर्‍याए।

प्रदीप गिरि बढी सफल कि विनोद चौधरी सफल भन्ने प्रश्नमा उनले भने, ‘प्रदीप गिरि नै सफल। त्यसलाई भौतिकतासँग जोड्न पाए अझ कस्तो होला?’ उनले नेपालमा काम गर्न सजिलै भएको धारणा पनि राखे।

‘नेपाल भित्र काम गर्ने आफ्नै नियम छन्, तपाईंले आफूलाई सही ढंगले म्यानेज गर्न सक्नुपर्छ’, उनले भने,‘नेपालमा काम गर्न सजिलो पनि छ। यहाँ पोलिसीलाई पनि इफेक्ट पार्न सकिन्छ। दक्षिण एसियामा पनि यस्तो छ। हाम्रोमा कामभन्दा बढी कुरा गर्नुपर्ने भएर हो।’ उनले अलग अलग व्यक्तिलाई अलग अलग सन्देश दिने चलन गलत भएको बताउँदै मजदूरकहाँ गयो एउटा, उद्यमीकहाँ एउटा, आम मान्छेकहाँ जाँदा एउटा कुरा गर्ने काम बन्द गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .