चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेटको आकार बढेको छ। योसँगै आन्तरिक राजस्व विभाग र भन्सार विभागको दायित्व समेत बढेको छ।
दुवै विभागले चालू आर्थिक वर्षभन्दा आगामी वर्षको आम्दानी झण्डै १ खर्ब बढाउनुपर्ने देखिएको हो।
चालू आर्थिक वर्षमा आन्तरिक राजस्व विभागलाई ५ खर्ब ३० अर्ब रुपैयाँको र भन्सार विभागलाई ५ खर्ब ३७ अर्बको राजस्व लक्ष्य दिइएको थियो।
बजेटको आकार बढ्दा आगामी आर्थिक वर्षलाई भने राजस्व समेत बढाउनुपर्ने भएको छ। सरकारले ११ खर्ब १० राजस्व उठाउने लक्ष्य राखेकोमा चालू आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने बताएको छ।
यसअनुसार अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई राजस्वको लक्ष्य बढाएर पठाएको छ। अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार गत हप्ता दुवै विभागलाई छुट्टाछुट्टै लक्ष्य निर्धारण गरिएको हो।
ती अधिकारीले नेपालखबरसँग भने, ‘तोकिएको लक्ष्यअनुसारको पत्र विभाग प्रमुखलाई पठाइसकिएको छ।’
सोअनुसार चालू आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षका लागि ६ खर्ब २६ अर्ब रुपैयाँ लक्ष्य पाएको छ। त्यसैगरी भन्सार विभागले ६ खर्ब ६८ अर्ब रुपैयाँको लक्ष्य पाएको छ।
जेठ १५ मा सार्वजनिक भएको बजेटअनुसार चालू आर्थिक वर्षभन्दा १ खर्ब ६१ अर्ब हाराहारीमा राजस्व बढाउनुपर्नेछ।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजन गरेको छ।
कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने बताएको छ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ।
चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले राजस्वमार्फत ११ खर्ब ८० अर्ब र प्राप्ति समेत गरेर १२ खर्ब ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। मध्यावधि समीक्षामा समेत सरकारले लक्ष्य संशोधन गरेको छैन।
चालू आर्थिक वर्ष सकिन अब आधा महिना मात्रै बाँकी छ। आजसम्मको तथ्याङ्कअनुसार सरकारले राजस्व ९ खर्ब ६७ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ८२ प्रतिशत संकलन गरेको छ। त्यस्तै कुल आम्दानीको १० खर्ब ८२ अर्ब रुपैयाँ अर्थात् ८२ दशमलव ६७ प्रतिशत संकलन गरेको छ।
Shares
प्रतिक्रिया