ad ad

कारोबार


कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशनः राज्य र सरकारको कार्यशैली फेरियो, त्यहीअनुसार काम गर्नुहोस्

कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशनः राज्य र सरकारको कार्यशैली फेरियो, त्यहीअनुसार काम गर्नुहोस्

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ११:१७,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको ०७६/०७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले आफूसँग गरिएको कार्यसम्पादन सम्झौताअनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिएका छन्।

‘मैले प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग गर्नुभएको छ। त्यस्तै सचिवज्यूसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गर्नुभएको छ। सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्यांकन हो। कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं’, मन्त्री पुनले बैठकमा भने।

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहीअनुसार काम गर्न पनि निर्देशन दिए। मन्त्री पुनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो। लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन।’

यसलाई गम्भीरतापूर्वक लिन उनले अनुरोध गरे।

उनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न समेत चेतावनी दिए। राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनले निर्देशन दिए।

अन्तर्मन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्ने धारणा राखे।

‘तपाईंहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुप¥यो, आफैँ फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुपर्यो। अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होइन’, मन्त्री पुनले भने।

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .