एडोब, अल्फाबेट, आईबीएम, म्याच ग्रुप (टिन्डरको स्वामित्व भएको कम्पनी) माइक्रोसफ्ट, वन्लीफ्यान्स (सामग्री उत्पादकले विभिन्न चरणको नग्नता प्रदर्शन गर्ने सब्स्क्रिप्सनसहितको सेवा) र ट्विटरका प्रमुख कार्यकारीहरुमाझ के समानता छ?
यी सातै जना भारतीय मूलका हुन्।
भारतीय उपमहाद्वीपमा भएको पर्याप्त प्रतिभा र त्यो प्रतिभा पश्चिमा कम्पनीतिर बग्ने क्रमलाई नियाल्ने हो भने यो आश्चर्यजनक कुरा होइन। पछिल्ला वर्षहरुमा अति दक्ष कामदारलाई अमेरिकाले जारी गर्ने एच–१बी भिसाको दुई तिहाइ हिस्सा भारतीयहरुले नै प्राप्त गरेका छन्।
तर, यी सात जना हाकिमहरुमा एउटा अर्को कुरा पनि समान छ। यी सबै उच्च जातीय हिन्दुहरु हुन्। जसमध्ये चार बाहुन हुन्। यो जाति परम्परागत रुपमा पुरेत्याइँ र शिक्षादीक्षासँग सम्बन्धित छ। बाहुनहरु जाति व्यवस्थाको शीर्ष हिस्सा हुन्। भारतका १.४ अर्ब जनसंख्यामध्ये यिनको संख्या मात्र ५ करोड हाराहारी छ।
अरु तीन जना सीईओ परम्परागत रुपमा व्यापार र बहीखाता सम्हाल्ने जातिका हुन्। यो समूह पनि जाति व्यवस्थाको एउटा सानो हिस्सा हो। जो ती ३० प्रतिशत हिन्दुहरुमा पर्छन्, जसलाई भारत सरकारले ‘अगुवा’ जाति मान्छ। अन्य ७० प्रतिशत ‘पिछडा’ वा ‘अनुसूचित’ जाति मानिन्छन्।
यो चाहिँ आश्चर्यजनक कुरा हो। किनभने भारतका आफ्नै कम्पनीहरुका बोर्डमा भने बाहुनहरु पछाडि छन्। भारतमा प्राज्ञिक क्षेत्र, विज्ञान र कानुनको तुलनामा व्यापार–व्यवसायमा बाहुनहरु कम सफल हुने गरेका छन्।
गत १५ वर्षमा सर्वोच्च अदालतका न्यायाधीशमध्ये एक चौथाइ बाहुन नै छन्। र, भारतका चार नोबेल विजेतामध्ये तीन जना बाहुन हुन्। यसमा पनि तमिल ब्राह्मणहरुको संख्या बढी छ।
तर, भारतका ठूला व्यवसायीहरु भने परम्परागत रुपमा व्यापारी भनेर चिनिने वैश्यहरु हुन्। २०२१ मा फोर्ब्समा सूचीकृत भारतका २० सबैभन्दा धनाढ्यहरुलाई हेरौँ। तीमध्ये १२ बनियाँ हुन्। जो हिन्दु वा जैन धर्मअन्तर्गतका वैश्य समुदायको एउटा शाखा हो। यिनको संख्या भारतको जनसंख्याको एक प्रतिशतभन्दा पनि कम छ।
यी बनियाँ अर्बपतिमध्ये पनि पाँच जना मारबाडी समुदायका हुन्। आफ्नै समुदायभित्र विवाह गर्ने यो व्यापारिक समूहको मूलथलो राजस्थान हो। भारतका सुरुवाती उद्योगपतिहरु यही समुदायबाट थिए।
बनियाँबाहेकका अर्बपति पनि लगभग सबैजसो लामो समयदेखि व्यापारको क्षेत्रमा काम गर्ने समुदायका हुन्। २० धनाढ्यमध्ये तीन जना पारसी हुन्। तिनैमध्ये एक हुन साइरस पुनावाला, जसको कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया विश्वको सबैभन्दा ठूलो खोप निर्माता हो।
सूचीका एक मात्र मुस्लिम (र भारतका सबैभन्दा दानी परोपकारी) अजिम प्रेमजी पनि परम्परागत रुपमा व्यापारिक समूहकै हुन्। खोजा भनेर चिनिने त्यो समूहको मूलथलो गुजरात हो।
सूचीमा एक जना मात्र ‘पिछडा’ जातिका व्यक्ति छन्। उनी हुन् भारतका तेस्रो धनी व्यक्ति शिव नादर। तर, दक्षिण भारतको नादर जाति करिब एक शताब्दीदेखि जाति व्यवस्थामा माथि उक्लिँदै आएको छ। यो जातिले आफ्नो परम्परागत ताडी थाप्ने पेसा उहिल्यै छाडिसकेको छ।
भारतको व्यावसायिक संसारको शीर्षमा मात्र होइन, तलैसम्म परम्परागत व्यापारिक समुदायको हालीमुहाली छ। २०१० मा भारतका सबैभन्दा ठूला एक हजार कम्पनीमा गरिएको अध्ययनले ९३ प्रतिशत बोर्ड सदस्य ‘अगुवा’ जातिका छन्। तीमध्ये ४६ प्रतिशत वैश्य हुन्।
सूचीकृत १५३० कम्पनीमाथिको २०१६ को अर्को अध्ययन अनुसार १० हजार ७८ कम्पनी निर्देशकमध्ये १० प्रतिशत निर्देशकको थर बनियाँ जातिअन्तर्गतका रहेको देखाएको छ। अध्येताहरुले करिब पाँच सय जना निर्देशकको थर या त अग्रवाल या गुप्ता फेला पारेका थिए। जो बनियाँहरुमध्ये सबैभन्दा प्रचलित थर हो।
उसोभए विदेशमा चाहिँ भारतीय बाहुनहरुले किन राम्रो प्रगति गरिरहेका छन् त?
यसको एउटा कारण के हुनसक्छ भने भारतमा गरिने व्यापारमा स्थापित सञ्जाल भएकालाई सजिलो हुन्छ। र, प्रतिभाशाली बाहुनहरु बसाइँ हिँड्ने प्रवृत्ति पनि छ। उनीहरुलाई जाँच पास गर्न र ठूलो अवसर भएको मुलुकमा प्रवेश गर्न पनि सजिलो छ। भारतमा अभ्यासमा रहेको समावेशी नीतिका कारण पनि उनीहरु विदेशतिर धकेलिन्छन्।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी आमा कलेज भर्ना हुने कोसिस गरिरहेकी थिइन्। तर, ‘पिछडा’ जातिका लागि आरक्षित सिटका कारण तमिल ब्राह्मणका लागि भर्ना हुन कठिन थियो। त्यसैले उनले अमेरिकामा छात्रवृत्तिका लागि आवेदन दिइन्। पीएचडी गरिन् र क्यान्सर रिसर्चर बनिन्।
भारतले अन्य मुलुकलाई अपार प्रतिभा हस्तान्तरण गरेको छ। तर, सँगसँगै जाति व्यवस्थाको सबैभन्दा दुखदायी पक्षलाई पनि निर्यात गरेको छ।
गएको १८ महिनादेखि क्यालिफोर्नियाको एउटा अदालतले सिलिकन भ्यालीको कम्पनीका एक दलित कामदारको मुद्दामा सुनुवाइ गरिरहेको छ। उनले कम्पनीका उच्च जातीय हाकिमहरुले आफूमाथि भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।
Shares
प्रतिक्रिया