बुटवलमा बिहीवारबाट राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ।
उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर मैदानमा सञ्चालित मेला पुस २० गतेसम्म चल्ने छ।
मेला उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल लगानीको केन्द्रको रुपमा विकास हुँदै गइरहेको उल्लेख गरे। उनले बुटवलको विकासमा नीजि संघसंस्थाको भूमिका सराहनीय रहेको भन्दै उपमहानगरले सबै संघसंस्थासँग सहकार्य गर्ने बताए।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको लागि राष्ट्रिय पूँजिमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए।
मेला आयोजक उद्योग व्यापार संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय ७० स्टल रहेको आयोजकले बताएका छन्। मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव पदम जिसीले जानकारी दिए।
व्यापार मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने आयोजकले बताएका छन्।
बुटवलमा यहाँका व्यवसायिक संस्थाहरुले प्रत्येक वर्ष पालैपालो मेला आयोजना गर्ने गर्दछन्। गत वर्ष कोरोनाको कारण मेला आयोजना हुन सकेको थिएन।
Shares
प्रतिक्रिया