ad ad

कारोबार


चौधरी फाउण्डेसनको विशेष पहलमा कुपोषणविरूद्ध राष्ट्रिय अभियान सुरू

चौधरी फाउण्डेसनको विशेष पहलमा कुपोषणविरूद्ध राष्ट्रिय अभियान सुरू

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ११:५५,

चौधरी फाउन्डेसनको विशेष पहलमा बालबालिकामा विद्यमान कुपोषण र गरिबीविरूद्धको राष्ट्रिय अभियान सुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासबाट यस अभियानको विधिवत् उद्घाटन गरेकी हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषणविरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन्। संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सुपोषित हुनु आवश्यक रहेको बताइन्।

यस बृहत् अभियानलाई अगाडि बढाउन गैरनाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ। नेपालमा आआफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याति कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा रहेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सीईओ अनिल शाह र पोषणविद् डा. उमा कोइराला रहेका छन्।

चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो। अध्यक्ष चौधरीले बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरी यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल लिएका हुन्।

‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन्। उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भइरहेका छन्। उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ। यही उद्देश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हो।’

बलियो नेपाल नेपालमा पहिलो पटक निजी क्षेत्रसँगको सहकार्यमा कुपोषणको दिगो अन्त्य र गरिवी निवारणमा योगदान पु¥याउने उद्देश्यका साथ स्थापना भएको हो। यो विश्वमै प्रयोगमा ल्याईएको एउटा नयाँ सोच पनि हो। नेपालका नयाँ अनुभवहरूलाई कुपोषणविरूद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशहरूमा लागू गर्न सकिने विश्वास गरिएको छ। अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरि कुपोषणविरूद्ध उपलब्धि हासिल गरेरै छाड्ने प्रतिबद्धता जनाए।

पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए।

‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान सुरू भएको छ, यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भने।

यस अभियानमा सीजीका उत्पादनहरू प्रवर्धन गर्न लागिएको भन्ने टिप्पणीप्रति लक्षित गर्दै सीजीका प्रबन्ध निर्देशक समेत रहेका चौधरीले भने, ‘यस अभियानमार्फत सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवस्यक ठानेका छैनौँ। हाम्रो विश्वव्यापी ब्राण्ड वाईवाई नेपालसहित एसिया, मध्यपूर्व, यूरोप, अमेरिका र अफ्रिकासम्म पनि विश्वब्यापी गुणस्तरमा प्रतिस्पर्धा गर्दै ति बजारहरूमा विस्तार भइरहेको छ। यस बारेमा सामान्य जानकारी राख्नेहरूले यस्तो टिप्पणी गर्दैनन् भन्ने हामीलाई राम्रोसँग थाहा छ। बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ। यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आव्हान गर्दछु।’

बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताए। यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहुँचमा पु¥याउने गरी कार्यक्रम तय भएको जानकारी पनि उनले दिए।

‘हाम्रो विशेष ध्यान बालबालिकाका अतिरिक्त किशोरीहरू, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरीहरूमा रहनेछ’, उनले भने, ‘जसबाट हामी के सुनिश्चित गर्न चाहान्छौँ भने आउने पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .