ad ad

कारोबार


कोका–कोलाद्वारा २ अर्ब करछली, रकम असुल्न मुद्दा हाल्दै विभाग

कोका–कोलाद्वारा २ अर्ब करछली, रकम असुल्न मुद्दा हाल्दै विभाग

दीपक भट्ट
कात्तिक ९, २०७८ मंगलबार १२:३२, काठमाडौँ

बहुराष्ट्रिय कम्पनी कोका–कोलाले नेपालमा दुई अर्ब रुपैयाँ कर छली गरेको भेटिएको छ। 

चर्चित पेयपदार्थ कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपाल लिमिटेडले २ अर्ब पुँजीगत लाभकर छली गरेको राजस्व अनुसन्धान विभागले गरेको अध्ययनबाट पत्ता लागेको हो। 

विभागले झण्डै एक बर्ष लगाएर यससम्बन्धी अध्ययन पूरा गरेको जनाएको छ। ठूलो परिमाणको कर छली भेटिएपछि अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा राय लिनको लागि पठाइएको छ। 

त्यहाँबाट फाइल रायसहित फिर्ता भएपछि विभागले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। 

राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले अहिले त्यसको अनुसन्धानको काम सकिएको बताए। 

‘बोटलर्स नेपाल लिमिटेडले लाभकर छली गरेको मुद्दा अब कुन रुपमा अघि बढाउने विषय छलफलमा छ’, पौडेलले नेपालखबरसँग भने, ‘त्यसको रायको लागि सरकारी वकिलको कार्यालयमा फाइल पठाएका छौँ।’

बोटलर्स नेपाल लिमिटेडमा रहेको विदेशी लगानीकर्ताको सेयर विदेशमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभ नतिरेको बारे विभागले गत वर्षदेखि अनुसन्धान गरिरहेको थियो। 

सो क्रममा नेपाललाई जानकारी नै नदिई बोटलर्स नेपाल लिमिटेडमा लगानी रहेको विदेशी कम्पनीको स्वामित्व परिवर्तन भएको विभागको अनुसन्धानले देखाएको छ। 

नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा लाग्ने २ अर्ब रुपैयाँ कर छली गरेको अनुसन्धानले देखाएको हो। 

सामान्य अनुसन्धानबाट सुरु भएको यो अनुसन्धान पुँजीगत लाभकरमा गएर जोडिएको र हाललाई यो सकिएको विभागले जनाएको छ। 

यसरी भयो कर छली 
बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता रहेका छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकीचाहिँ सर्वसाधारणको लगानी छ।  

कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्। 

स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। त्यसैले सो २ अर्ब रुपैयाँ रकम छली नै भएको र छली गरेको रकम तिर्नुपर्ने देखिएको छ। 

महानिर्देशक पौडेलले भने, ‘सबै गरेर यस्तो रकम हाल २ अर्ब हाराहारीमा देखिन्छ।’ 

नेपालको बोटलर्स नेपालको ७५ प्रतिशत सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले द कोका–कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बिक्री गरेको देखिएको हो।

उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात् सन् २०१४ मा भएको खुलेको छ।  

नेपालमा कोका–कोला उत्पादन बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई नामक दुईवटा कम्पनीबाट हुन्छ। दुबै बोटलर्स नेपाल लिमिटेड अन्तर्गतका कम्पनी हुन्। 

यी दुवै नाफामा सञ्चालन भइरहेका छन्। गत साउनमा सार्वजनिक भएको तथ्याङ्कले पनि यही देखाउँछ। 

यसअनुसार बोटलर्स नेपाल तराईको वार्षिक नाफा ४२ करोड ६३ लाख रुपैयाँ छ। 

बोटलर्स नेपाल बालाजुको वार्षिक नाफाचाहिँ ४४ करोड ९७ लाख रुपैयाँ देखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .