बाह्रसिंगे बियर उत्पादन गर्ने याक ब्रुइङ कम्पनी २०७२ सालमा उद्योग विभागमा दर्ता भयो। कम्पनीका मालिक थिए रवि केसी।
उद्योग दर्ता भएको एक वर्षसम्म सञ्चालन प्रक्रिया सुरु गरिसक्नुपर्ने थियो। तर, कम्पनीले प्रक्रिया पुरा नगरेको भन्दै उद्योग विभागका तत्कालीन महानिर्देशक शिवराज न्यौपानेले २०७५ असारमा उद्योग खारेजीको प्रक्रिया अघि बढाए।
तर, सो कम्पनीले उद्योग विभागलाई जानकारी नदिए पनि तोकिएको एक वर्षभित्रै सञ्चालनको प्रक्रिया सुरु गरिसकेको थियो। उद्योगले १ अर्ब ५० करोड रुपैयाँ लगानी समेत गरिसकेको थियो। जसअनुसार बाह्रसिंगे ब्रान्डको बियर उत्पादन पनि थालिसकेको थियो।
त्यसैबेला दर्ता खारेजीको प्रक्रिया सुरु भएको थियो। ठूलो रकम लगानी भइसकेको भन्दै कम्पनीले दर्ताका लागि पुनः आवेदन दियो। तर कम्पनी दर्ता हुन नदिन प्रतिस्पर्धीहरु लागिपरेको केसीको आरोप थियो।
‘मन्त्रीदेखि कर्मचारीसँग समेत लबिङ गरेर कम्पनी दर्ता हुन पाएन,’ तत्कालीन उद्योगमन्त्री मातृका यादव र जावलाखेल ग्रुपतर्फ संकेत गर्दै केसीले भनेका थिए।
तर, केसीले तत्कालीन प्रधानमन्त्री केपी ओलीसम्मै पुगेर लबिङ गरे। जसअनुसार उनकै कम्पनीलाई सहजीकरण गर्नेगरी औद्योगिक व्यवसाय ऐन २०७६ जारी भयो। जसमा ऐनमा दर्ता भएको तर सञ्चालन अनुमति पाउन नसकेको उद्योगलाई सञ्चालनको प्रक्रियामा ल्याउन विभागले ३ महिनाको सूचना जारी गर्न सकिने व्यवस्था थियो।
सोही ऐनअनुसार गत वर्ष असोजमा याक ब्रुइङ कम्पनी दर्ता भयो।
यो घटनाबाट स्पष्ट हुन्छ– नेपालका मदिरा उत्पादकहरुबीच चरम गुटबन्दी छ। मदिरा उत्पादकहरुको छाता संगठन नै दुई वटा छन्। यी दुई धारबीचको दलबन्दी, प्रतिस्पर्धा र आपसी आरोपप्रत्यारोप पनि रोचक देखिन्छ।
नेपालमा मदिरा उत्पादन भन्नेबित्तिकै जावलाखेल ग्रुपको नाम अगाडि आउँछ। यो ग्रुपले ६ पुस्तादेखि नेपालमा मदिरा उत्पादन गरिरहेको छ। अहिले ग्रुपका अध्यक्ष विजयकुमार शाह छन्।
यो ग्रुपबाट रुस्लान भोड्का, वार्सटाइनर, बडवाइजरसहित नमस्ते, माउन्टेन लगायतका बियर उत्पादन भइरहेको छ। ब्लु डाइमन्ड र अल्टिमेट जिन, ग्रान्डमास्टर रम लगायतका मदिरा पनि छन्।
साथमा रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक, ब्ल्याक ओक, हिमालयन अइला पनि उत्पादन गर्दै आएको छ।
एउटा समूहको नेतृत्व जावलाखेल ग्रुपले गर्छ। यसैको बोलवाला चल्ने गरी नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघ समेत निर्माण भएको छ।
त्यस्तै अर्को खेमाको नेतृत्व रवि केसीले गर्छन्। नेपालमा राम्रो बजार लिइरहेको ह्विस्की ओल्ड दरबार तथा बाह्रसिंगे बियर उत्पादन गर्ने उनले पनि नेपाल मदिरा उत्पादक संघ नामको संगठन चलाउँछन्।
संघको अध्यक्ष रहेका उनले एक महिनाअघि नेतृत्व हस्तान्तरण गरेका हुन्। अहिले अध्यक्षमा बैजुप्रसाद बाबरा चयन भएका छन्। तर, बोलवाला भने केसीकै चल्छ।
केसीले नेतृत्व गरेको समूहमा धेरै साना उद्यमीहरु छन्। विजयकुमार शाहले नेतृत्व गरेको समूहमा भने धेरै ठूला उद्यमीहरु छन्।
यी दुई समूहले गर्ने नीतिगत लबिङको तरिका पनि अलग छ।
नेपालको सबैभन्दा पुरानो मदिरा उद्योगीमा पर्छ जावलाखेल ग्रुप। त्यसैले यो ग्रुप नियमसंगत ढंगले व्यवसाय गर्न चाहन्छ, त्यही अनुसार योजना बनाउँछ। र, नियमसंगत तरिकाले व्यवसाय गर्नेहरुलाई आफ्नो संगठनमा राख्छ।
धेरै नयाँ उद्योग नआऊन्, पुराना उद्योगहरुको क्षमता वृद्धिमा समेत सरकारले कडाइ गरोस्, यो संगठनको चाहना यस्तै हुन्छ। र, सोहीअनुसार सरकारसँग लबिङ पनि गर्छ।
यता नयाँ व्यवसायीहरुमाथि आरोप छ– उनीहरुको समूहले राजस्व चुहावट तथा छली गर्छ। कर छली गर्ने र चुहावट गर्नेलाई बचाउन नीति निर्माण तहमै लबिङ पनि गर्छ।
नक्कली अन्त:शुल्क स्टिकर प्रयोग गर्ने, कर छली गर्ने छाप बनाएका ब्रुअरीहरु यही समूहमा छन्। नयाँ आएका धेरै ब्रान्डहरु यस ग्रुपमा छन्। नयाँ व्यवसायीहरु, कर छली गर्नेहरु, छोटो सयमा धेरै कमाउन खोज्नेहरु याे समूहमा रहेको नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघमा आबद्धहरु बताउँछन्।
‘नेपालमा अहिले आएका नयाँ उद्यमीहरु पहिलो त देखासिकी गर्ने खालका छन्। दोस्रो, उनीहरु कर छली गर्ने छन्। जस कारण उनीहरुसँग बजारमा कसरी प्रतिस्पर्धा गर्ने त्यो हेर्न बाँकी छ,’ उनीहरु भन्छन्।
राजस्व अनुसन्धान कार्यालय बुटवलले गत भदौ ५ मा सशस्त्र प्रहरीको सहयोगमा भैरहवाको डण्डा क्षेत्रबाट २ करोड ३५ लाख ६३ हजार रुपैयाँ मूल्यबराबरको नक्कली अन्तशुल्क स्टिकर समातेको थियो। जुन स्टिकर मदिरामा प्रयोग हुन्छ। स्टिकर वितरणको आधारमा नै नेपाल सरकारले मदिराको राजश्व संकलन गर्ने काम गर्छ।
ती अन्तःशुल्क नक्कली स्टिकर भारतबाट ल्याएर भैरहवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो। त्यसमा संलग्न साहिद अन्सारी र अमानत अलीलाई प्रहरीले पक्राउ गरेको थियो।
भैरहवाको क्रिस्टल डिस्टिलरीले ती स्टिकर ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको थियो। तर, यो अनुसन्धान कार्य अहिले रोकिएको छ।
यो प्रकरणका प्रमुख नाइके फुलसिंह क्षेत्री देखिएको राजश्व अनुसन्धान विभागले बताएको थियो। क्षेत्री त्यही व्यक्ति हुन्, जो रवि केसीको बोलवाला चल्ने नेपाल मदिरा उत्पादक संघका कोषाध्यक्ष छन्। उनलाई यो प्रकरणबाट चोख्याउन रवि केसी लगायतहरुले लबिङ रहेको विपक्षी खेमाको दाबी छ।
यी त भए नेपालमै मदिरा उत्पादन गर्नेहरु। तेस्रो धारका रुपमा स्थापित भइरहेका छन्, विदेशी ब्रान्ड नेपाल ल्याएर बजारीकरण गर्नेहरु। यसमा विशाल ग्रुप र शारदा ग्रुप अगाडि आउँछन्।
यी दुवै मारवाडी घराना हुन्। यिनीहरुको प्रयास हुन्छ– आयातित मदिराको भन्सार तथा अन्तशुल्क कम गराउने। त्यसका लागि सरकारी नीतिलाई प्रभावित पार्नेगरी यिनीहरु लबिङ गर्छन्।
हरेक वर्ष सरकारले मदिरामा कर बढाउँछ। तर, बजेटअघि नै यी दुई ग्रुप विदेशी मदिराको भन्सार तथा अन्तशुल्क नबढाउन माग गर्दै अर्थमन्त्री, अर्थ सचिवकहाँ पुगिसक्छन्।
युवराज खतिवडा अर्थमन्त्री भएको समयमा यी दुई घरानाले विदेशी मदिराको भन्सार नै कम गर्नुपर्यो भन्दै माग गरेका थिए। तर, खतिवडाले मदिराको कर घटाउन नसकिने बरु अन्य कुरामा सहुलियत दिन सकिने आश्वासन दिएका थिए। सोहीअनुसार विशाल ग्रुपले कारोबार गर्दै आएको आयातित चकलेटमा भन्सार कम भएको थियो।
त्यो निर्णयको चर्को विरोध भएपछि सरकार सच्याउन बाध्य भएको थियो।
त्यस्तै, २०७६ चैतमा सरकारले विदेशी मदिरामा बन्देज लगाएको थियो। व्यापार घाटा बढेको र विलासी वस्तु आयात रोक्ने नीति बमोजिम मदिरा आयातमा रोक लगाइएको थियो। तर, २०७७ को दसैँअगावै सरकारले सो निर्णय उल्ट्याएको थियो।
त्यसो हुनुमा विशाल र शारदा ग्रुपकै हात रहेको नेपाली उत्पादकहरुको दाबी छ।
दलबन्दीबाट टाढा बसेका दुई बियर उत्पादक
विश्वका धनाढ्यहरुको सूचीमा रहेका चौधरी ग्रुपको नेपाल आइस बियरले बजारमा ठूलो ठाउँ ओगट्दै गएको छ। यो उपत्यकामा सबैभन्दा बढी बिक्री हुन थालेको छ।
अन्य व्यापारमा समूह बनाएर नीतिनियम प्रभावित तुल्याउने चौधरी ग्रुप मदिराको बजारमा भने कतै नलागी बसेको देखिन्छ। उसको ध्यान आफ्नो बजार कसरी बढाउने भन्नेतिर मात्रै केन्द्रित रहेको देखिन्छ।
त्यस्तै, कतै नलागी बसेको अर्को समूहको उत्पादन हो, गोर्खा ब्रुअरी। गोर्खा ब्रुअरी भन्नेबित्तिकै नेपालको बियर मार्केट सम्झिनुपर्छ। नेपालको बियर मार्केटमा गोर्खा बु्रअरीले अहिले पनि ४८ प्रतिशत हिस्सा ओगट्छ। यसले पनि उद्योगीहरुबीचको समूहगत राजनीतिलाई धेरै ध्यान दिएको देखिँदैन।
Shares
प्रतिक्रिया