व्यावसायिक स्याउखेतीमा लम्किरहेको मनाङलाई यो वर्ष स्याउ उत्पादनमा गम्भीर धक्का लागेको छ।
यो वर्ष धेरै पानी परेकाले कुल क्षमताको १० प्रतिशत मात्रै स्याउ उत्पादन भएको व्यवसायीहरुले बताएका छन्।
नेपालमा धेरै स्याउ हुने मनाङ, मस्ताङ, हुम्ला र जुम्ला जिल्लालाई लिइन्छ। पछिल्लो समय भने मनाङमा व्यावसायिक स्याउ फार्महरु बढ्नथालेका छन्। जसको कारण हरेक वर्ष मनाङको उत्पादन बढिरहेको थियो।
२०७५ सालमा ९ सय १६ मेट्रिक टन व्यावसायिक स्याउ उत्पादन भएको मनाङमा २०७६ मा १ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।
२०७७ सालमा १ हजार १ सय मेट्रिक टन उत्पादन पुगिसकेको स्याउ यो वर्ष स्वाट्टै घटेको मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष छिरिङ दोर्जे लामा बताउँछन्।
उनले नेपालखबरसँग भने, ‘मनाङ हिमाली जिल्ला हो। यो वर्ष धेरै पानी परेको कारण कुनै खाद्य वस्तुको पनि उत्पादन राम्रो देखिँदैन।’
मनाङले उत्पादन गरेर बिक्री गरिरहेको स्याउ त यो वर्ष नगन्य नै रहेको उनले बताए।
‘कुल क्षमताको १० प्रतिशत मात्रै उत्पादन भएको अनुमान छ’, लामाले भने।
उनका अनुसार मनाङमा हरेक घर परिवारले स्याउ उत्पादन गर्छन्। तर आफ्नो उत्पादन बिक्री गर्नेहरु भने कमै रहेको उनको भनाइ छ।
‘धेरैले आफू खानको लागि स्याउ लगाएका छन्’, उनले भने।
तर व्यावसायिक खेतीको कारण अहिले भने मनाङ आकर्षित भइरहेको छ।
एग्रो मनाङ प्रालि जिल्लाकै सबैभन्दा ठूलो स्याउ उत्पादन गर्ने फर्म हो। यसले माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा भाडामा लिएको छ।
जहाँ ७ वर्षदेखि उसले व्यावसायिक स्याउ उत्पादन गरिरहेको छ। एग्रो मनाङले २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएको छ। यसका सञ्चालक सांसद पोल्देन छोपाङ गुरुङ हुन्।
योसहित मनाङमा व्यावसायिक फर्महरु अरु पनि छन्। पिछाङ, टङ्के मनाङ, चामेलगायतका स्थानमा कम्पनीहरुले व्यावसायिक स्याउखेती गरिरहेका छन्।
ती सबै फार्महरुसहित लोकल लेवलमा स्याउ खेती हुने गरेकामा यस वर्ष भने उत्पादन खस्किएको उद्योग वाणिज्य संघका अध्यक्ष लामा बताउँछन्।
मनाङमा आईएमएस ग्रुप पनि जाँदै
मनाङको मर्स्याङ्दी खोलावरिपरिको ५ सय रोपनी क्षेत्रमा आईएमएस ग्रुपले स्याउखेती गर्ने योजनासहित काम अगाडि बढाएको छ।
ग्रुपले उक्त जग्गा ३० वर्षसम्म लिजमा लिने सम्झौता गरिसकेको छ। आईएमएस ग्रुपले कृषि उत्पादन र वितरणमा लगानी गर्ने योजना अघि सारेको छ।
तराईदेखि पहाड र हिमाली भेगमा समेत आफ्नो कृषि उत्पादन गर्ने यो ग्रुपको योजना छ। यसअनुसार मनाङमा व्यावसायिक स्याउखेती गर्न लागेको हो।
Shares
प्रतिक्रिया