अमेरिकी सवारीसाधन निर्माता फोर्डले भारतमा उत्पादन बन्द गरे पनि नेपालमा निरन्तर गाडी पठाउने भएको छ। नेपालमा निरन्तरता पाउने भन्दै फोर्डले नयाँ गाडीको बुकिङ समेत खुल्ला गरेको छ।
नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले नयाँ गाडी र यसका पार्टपुर्जा खरिदमा कुनै समस्या नहुने बताएको हो।
‘नेपालमा फोर्डको व्यवसायमा कुनै फरक पर्दैन। गाडी र पार्ट दुवै व्यवसाय नेपालमा निरन्तर हुन्छ’, जीओ अटोमोबाइल्सका प्रबन्धनिर्देशक आकाश गोल्छाले नेपालखबरसँग भने, ‘भारतमा फोर्डको उत्पादन प्लान्ट बन्द भए पनि अरु नजिक पर्ने प्लान्टबाट नेपाल ल्याउँछौँ।’
भारतमा २५ वर्षदेखि व्यवसाय गर्दै आएको फोर्डले बजार प्रतिस्पर्धा गर्न नसकेपछि भर्खरै कार उत्पादन बन्द गरेको थियो। फोर्डका अनुसार बितेको दशकयता कम्पनीले २ अर्ब अमेरिकी डलर सञ्चालन नोक्सानी व्यहोर्नुपरेको उल्लेख गरेको छ।
भारतको गुजरात र तमिल नाडुमा रहेका प्लान्टबाट फोर्डले कार उत्पादन गर्दै आएको थियो। अब सन् २०२२ को दोस्रो त्रैमासिकपछि यी प्लान्टबाट कार उत्पादन नहुने कम्पनीले घोषणा गरेको छ।
भारतमा प्लान्ट बन्द भए पनि कुनै पनि पार्टपुर्जाको मूल्य धेरै नबढ्ने गोल्छा बताउँछन्।
‘हामी पार्ट्समा प्रतिस्पर्धामा छौँ। प्रतिस्पर्धी नै रहन्छौँ’, गोल्छाले भने, ‘फोर्डको पार्ट्सको मूल्य र अन्य गाडीको पार्टको मूल्यमा तुलना गर्दा हुन्छ। हाम्रो महंगो छैन।’
गोल्छाले २०१५ मा क्लासिक भन्ने गाडी नेपाल आउन बन्द भएको उदाहरण दिँदै त्यसको पार्ट आज पनि नेपालमा पाइरहेको उल्लेख गरे।
‘इकोस्पोर्ट २०१७ मा नयाँ आएको थियो। त्यसअघिको पुरानो इकोस्पोर्टको पार्ट पनि अहिले पाइरहेको छ’, उनले भने, ‘भारतमा बन्द भए पनि अरु देशबाट गाडी आउँछन्। थर्ड कन्ट्री (तेस्रो देश)बाट ल्याउन सक्छौँ, कुनै समस्या छैन।’
गोल्छाले नेपालमा छिट्टै फोर्ड एभरेष्ट लञ्च गर्ने तयारी भइरहेको बताए।
फोर्डले बुकिङ लिन सुरु गरेको छ। फोर्ड एभरेष्ट २०२२ को सुरुमै नेपाल आउने गोल्छाले जानकारी दिए।
फोर्ड एभरेष्ट २.० लि. वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पिड अटोकेटिक ट्रान्समिसन भएको कम्पनीले जनाएको छ।
उक्त गाडीको मूल्य १ करोड ९९ लाख रुपैयाँ तोकेको छ।
Shares
प्रतिक्रिया