स्वदेशी र विदेशी साझेदार रहेको गोर्खा ब्रुअरीमा उनीहरुबीच लफडा झन् बढ्दै गएको देखिएको छ।
नेपालमा सबैभन्दा धेरै खपत हुने बियर ब्राण्ड उत्पादन गर्ने कम्पनीमा विदेशी लगानीकर्ता र नेपाली पार्टनरको मनमुटाव सञ्चालक समितिदेखि व्यवस्थापन पक्षसम्म देखिएको हो।
सञ्चालक समितिमा रहेको मनमुटाव त अदालतसम्मै पुगिसकेको छ। अहिले त्यो मनमुटाव व्यवस्थापन पक्षमा देखिएको पनि छ।
गोर्खा ब्रुअरीमा ९० प्रतिशत लगानी विदेशी लगानीकर्ता कार्ल्सवर्ग साउथ एसिया प्रालिको छ भने १० प्रतिशत सेयर स्वामित्व नेपाली व्यावसायिक घराना खेतान समूहको छ।
यसकारण सुरु भयो पछिल्लो लफडा
कार्ल्सवर्ग साउथ एसियाले प्रबन्धनिर्देशकको रुपमा भारतीय नागरिक अजितबाबु नरसिंहलाई नियुक्त गरेको थियो।
उनले एक कार्यकाल पूरा समेत गरिसकेका छन्। यसैबीच, यही वर्ष उनको कार्यकाल दोहोर्याउने निर्णय भयो। उनले दोस्रो कार्यकालको काम सुरु गरे।
सोही कम्पनीमा खेतान समूहबाट सुरेन्द्र सिलवाल सहायक प्रबन्धनिर्देशक रहेका छन्। प्रबन्धनिर्देशकका रुपमा अजितबाबु नरसिंहले दोस्रो कार्यकाल सुरु गरेपछि यी दुई अर्थात् प्रबन्धनिर्देशक र सहायक प्रबन्धनिर्देशकबीच लफडा देखिएको हो।
सिलवालले कम्पनीमा आफ्ना प्रस्तावहरूमा निर्णय गराउने कोशिस गर्दै आएका थिए। उनी आफ्नो योजना कार्यान्वयन गराउन तल्लीन छन्।
‘व्यवस्थापन तहमा विदेशी लगानीकर्ताभन्दा खेतान समूहको कुराहरु बढी प्राथमिकतामा पर्छन्’, कम्पनीका एक अधिकारीले भने, ‘ ‘सिलवालले त्यसमा अन्य कर्मचारीहरुलाई पनि दबाब दिँदै आइरहेका छन्।’
ती अधिकारीका अनुसार केही समयदेखि अजितबाबु नरसिंह र सुरेन्द्र सिलवालबीच बोलचाल समेत थिएन।
‘केही दिनअघि सिलवालले उच्च तहदेखि गार्डहरु लगायत सबै कर्मचारीलाई आफ्नो साइड लिन भने’, ती अधिकारीले नेपालखबरसँग भने, ‘अजितबाबु नरसिंहलाई अफिस नै पस्न नदिने निर्णय भयो।’
अजितबाबु हात्तीसारस्थित ब्रुअरीको कार्यालयमा आए तर सिलवालको योजनाअनुसार उनलाई गार्डले पस्न दिएनन्।
त्यसपछि अजितबाबु कार्यालय नै नआई भारत गइसकेको स्रोतहरूको दाबी छ।
किन हावी हुन खोजे सिलवाल ?
पहिलो कारण, नेपाली नागरिक भएकाले कर कार्यालय, राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायसँग सम्बन्धित समस्याहरु हल गर्न उनलाई भारतीय मूलका अजितबाबु नरसिंहलाई भन्दा सहज हुने नै भयो।
ब्रुअरीमा हावी हुन खोज्दै सिलवालले आफूलाई व्यवस्थापनको प्रमुख बनाउनुपर्ने माग उठाउँदै आएका छन्।
लफडा बढ्दै जानुको अर्को कारण सञ्चालक समितिकै विवाद व्यवस्थापन पक्षमा समेत देखिनु हो। खेतान समूहबाट अहिले गोर्खा ब्रुअरी सुरेन्द्रले हेरिहेका छन् जो प्रेमप्रकाश खेतानका मान्छे हुन्।
त्यस्तै विदेशी लगानीकर्ताका मान्छे हुन् अजितबाब। पछिल्लो समय सञ्चालक समितिमा खेतान समूहविना नै विदेशी लगानीकर्ता कार्ल्सवर्ग साउथ एसिया अघि बढ्न खोजेपछि सिलवाल बढी सक्रिय हुनथालेका हुन्।
स्रोतका अनुसार पछिल्लो समय खेतान समूह व्यवस्थापनदेखि बजारसम्ममा आफ्नो निर्णयहरु हावी बनाउँदै सञ्चालक समितिप्रति रिस पोख्ने योजनामा छ।
किनकि साउथ एसियाले खेतान समूहलाई सञ्चालक समिति र साधारणसभामा प्रतिनिधित्व हुनबाट नै रोकिरहेको छ।
सोही कारण खेतान समूहले अजितबाबुलाई कम्पनीबाट नै निकाल्ने योजना बनाएको थियो। जुन अहिले सफल समेत भएको छ।
खेतान समूहको अबको योजना भनेको विदेशी लगानीकर्ता सञ्चालक समितिमा जति नै हावी भएर निर्णय गरे पनि व्यवस्थापनमा त्यो कार्यान्वयन नगराउने हो।
विगत केही वर्षदेखि नेपाली पार्टनर र विदेशी लगानीकर्ताबीच एक बहुराष्ट्रिय कम्पनीमा रहेको विवादले उत्पादन र बजारमा समेत नकारात्मक प्रभाव पार्न थालिसकेको छ।
करिब ३ वर्ष अघिसम्म नेपालको कुल बियर बजारमा गोर्खा ब्रुअरीको उत्पादनले ६० प्रतिशतभन्दा माथि बजार हिस्सा लिएकोमा हाल ४८ प्रतिशतमा झरेको कम्पनीको भनाइ छ।
यो पनि-
Shares
प्रतिक्रिया