ad ad

कारोबार


अर्थमन्त्री शर्माले अन्तिम चरणमा पुर्‍याए श्वेतपत्र, ‘यथार्थपत्र’ नामकरण

अर्थमन्त्री शर्माले अन्तिम चरणमा पुर्‍याए श्वेतपत्र, ‘यथार्थपत्र’ नामकरण

दीपक भट्ट
साउन १७, २०७८ आइतबार १९:८, काठमाडौँ

देशको वर्तमान अर्थतन्त्रको अवस्था छर्लङ्ग देखाएर अघि बढ्ने सोचमा रहेका अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र लेखनकार्य अन्तिम चरणमा पुर्याएका छन्। 

डा. सुरेन्द्र उप्रेतीको सहयोगमा लेखन भइरहेको श्वेतपत्रको नामचाहिँ मन्त्री शर्माले ‘यथार्थपत्र’ राखेका छन्।  

अर्थ मन्त्रालयका एक अधिकारीले श्वेतपत्र लेखन अन्तिम चरणमा पुगेको र नाम यथार्थपत्र राखिएको जानकारी दिए। 

उनका अनुसार अरुलाई दोष लगाउनेभन्दा पनि अर्थतन्त्रको यथार्थ अवस्था र मन्त्री शर्माले आत्मसात् गर्ने नीतिगत कुराहरु त्यसमा समावेश हुनेछ। 

पूर्ववर्ती अर्थमन्त्री र उनीहरुले लिएका नीतिगत कुराको पछि लाग्नेभन्दा पनि वर्तमान अर्थतन्त्रको अवस्था श्वेतपत्रले केलाउने ती अधिकारीको भनाइ छ। 

कमी कमजोरीबारे टिप्पणी र मूल्यांकन जनतालाई नै गर्न दिने मन्त्री शर्माले बताएको ती अधिकारीले बताए। 

उनले भने, ‘कमजोरीको पछि लाग्ने, कसैको अवमूल्यन गर्ने काम गर्दिनँ भनेर मन्त्रीज्यूले भनिसक्नुभएको छ। त्यसकारण श्वेतपत्रले यथार्थ चित्रण गर्छ।’

तर श्वेतपत्र सर्वसाधारणले समेत बुझ्ने भाषामा वर्तमान अर्थतन्त्रको अर्र्थपरक चित्रण गरिने उनको भनाइ छ। 

‘योभन्दा अघिको सरकारले सिर्जना गरेकोे अतिरिक्त दायित्वको विषयलाई छर्लङ्ग देखाइनेछ’, उनले नेपालखबरसँग भने। 

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले आफू लोकप्रिय हुँदा विभिन्न आयोजनाहरु शिलान्यास गरेका र ती आयोजनाहरुमा बजेट नै विनियोजन भएका छन्। 

त्यसले करिब २ खर्ब हाराहारीमा अतिरिक्त दायित्वको आर्थिक भार परेको छ। त्यसको यथार्थ चित्र त्यसमा राखिसकिएको ती अधिकारी बताउँछन्। 
 
त्यसका साथै अहिलेको आर्थिक सूचकहरुलाई यथार्थ रुपमा देखाइनेछ। 

अहिलेको अवस्थालाई देखाइरहँदा अर्थमन्त्रीले आफ्नो लक्ष्य समेत यथार्थपत्रमार्फत राख्ने मन्त्रालयले जनाएको छ।  

यसरी तयार पारिएको यथार्थपत्रलाई अर्थमन्त्रीले समयअनुकूल सार्वजनिक गर्ने तयारी गरेका छन्। 

मन्त्रलयका ती अधिकारीले अर्थमन्त्रीले अर्थतन्त्रको वास्तविक चित्र पस्किँदै गर्दा केही विवाद समेत हुने हुनाले अहिलेको राजनीतिक अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए। 

यो धेरै राजनीतिक दलको समर्थनमा बनेको सरकार भएकाले र सरकार विस्तारको काम समेत पाइपलाइनमा रहेकोले सबै पक्षलाई अनुकूल हुने समयको पर्खाइमा अर्थमन्त्री रहेको उनको भनाइ छ।  

त्यस्तै अहिले बजेट संशोधनको विषयमा पनि अर्थमन्त्री अनुकूल समयको पखाईमा देखिएका छन्। 

प्रधानमन्त्रीले नै संशोधन अर्थात् प्रतिस्थापन विधेयक संसदमा लाने काम मन्त्रिपरिषद्को विस्तारपछि मात्रै गर्ने अर्थमन्त्रीलाई भनिसकेका छन्। 

प्रतिस्थापन विधेयक लगेपछि पास पनि गर्नुपर्ने हुन्छ। त्यसकारण राजनीतिक पक्ष अनुकूल हुने गरी संसदमा बजेट लाने तयारीमा अर्थमन्त्री रहेका छन्। 

कस्तो कार्यक्रम आउला?
खासगरी तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको र विवादित बनेको ढुंगा गिट्टी निकासीको नीतिलाई हटाउने तयारी मन्त्री शर्माले गरेका छन्। 

मन्त्रालयमा शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मूल योजना रहेको बताएकाले सोहीअनुसारको नयाँ कार्यक्रमहरु थपिने निश्चित छ। 

नयाँ सरकार गठन भएको स्थितिमा आर्थिक अध्यादेश संसदमा टेबल भएको छ। त्यसलाई पारित गर्दै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ। त्यो कार्य सक्न अझै केही दिन लाग्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .