ad ad

कारोबार


कांग्रेसको छनोटमा युवा विशेषज्ञ, योजना आयोगमा स्वर्णिमपछि विश्व पौडेल

कांग्रेसको छनोटमा युवा विशेषज्ञ, योजना आयोगमा स्वर्णिमपछि विश्व पौडेल

दीपक भट्ट
साउन १२, २०७८ मंगलबार १९:४,

सत्ता हाँकिरहेको दल नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा विशेषज्ञ विश्व पौडेललाई छनोट गरेको छ। 

मंगलबार बसेको मन्त्रीपरिषद बैैठकले युवा आर्थविद विश्वनाथ पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो। 

यसअघि शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेको बेला पनि कांग्रेसले उक्त पदमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई छनोट गरेको थियो। 

पछिल्ला यी दुई नियुक्तिबाट कांग्रेसले युवा विशेषज्ञलाई योजना आयोगको नेतृत्व दिने बाटो लिएको देखिएको हो।

केपी शर्मा ओलीले पुष्पराज कँडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो। 

देउवाले चाहिँ यसअघिकै जस्तो कांग्रेस निकट युवा अर्थविदमध्येबाट पौडेललाई नियुक्त गरेका हुन्। सामान्यतया सरकारको नेतृत्व गर्नेले अर्थमन्त्रालय लिने चलन छ। तर योपल्ट अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रबाट जनार्दन शर्मा बनेका छन्।   

योजना आयोग सरकारको नीति निर्माण गर्ने, योजनाहरु तय गर्ने अनुसन्धान गर्ने निकाय हो। त्यसकारण अर्थ मन्त्रालयसँग धेरै विषयहरु जोडिएको हुन्छ। वार्षिक बजेट कार्यक्रमको सिलिङको सिफारिस नै योजना आयोगले गर्छ।

यसलाई हेरेर प्रधानमन्त्री देउवालाई योपल्ट आयोगमा अलि अनुभवी व्यक्ति पठाउन दबाब थियो पार्टीबाट। योभन्दा अघि योजना आयोगको उपाध्यक्ष रहिसकेका कांग्रेसनिकट शंकर शर्मालाई उपाध्यक्ष बनाउनुपर्ने दबाबका बीच पौडेल आयोग हाँक्न आइपुगेका हुन्। 

को हुन् उपाध्यक्ष पौडेल? 
डा पौडेल पछिल्लो समय नेपालका चर्चित अर्थविद् हुन्। प्राकृतिक स्रोत, श्रम र आर्थिक इतिहासमा उनको विशेष दक्षता छ। 

उनले अमेरिकाको बर्कलीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चरल एन्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन्। 

काठमाण्डू युनिभर्सिटी स्कुल अफ मेनेजमेन्टमा भिजिटिङ एसोसिएट प्रोफेसरका रुपमा काम गरिसकेका पौडेल मध्यतमोर हाइड्रोपावर कम्पनीको बोर्डमा समेत रहिसकेका छन्। 

त्यसअघि उनी सानिमा बैंकको बोर्ड सदस्य थिए। विगतमा उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए। मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीको भूमिका निभाइसकेका उनी राष्ट्रिय योजना आयोगकै उपाध्यक्षका विज्ञ सल्लाहकार रहिसकेका छन्। 

उनका राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकामा अर्थसम्बन्धी लेखरचना प्रकाशित छन्। पौडेल नेपालका चर्चित युवा अर्थशास्त्री हुन्। ​

***

उता सन् २०१४ देखि २०१८ सम्म राष्ट्रिय योजना आयोगमा रहेका वाग्ले सुरुमा सदस्य र त्यसपछि उपाध्यक्ष बनेका थिए। 

योजना आयोगमा रहँदा वाग्लेले राष्ट्रिय विकास रणनीतिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले सार्वजनिक क्षेत्रको नीतिगत पक्ष, ठूला परियोजनाको अनुगमनका साथै अन्तर्राष्ट्रिय स्तरमा मन्त्रीस्तरीय डेलिगसनमा सहभागिता जनाएका थिए। 

वाग्लेले विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीका रुपमा उनले हनोई, कोलम्बो र न्युयोर्कमा रहेर काम गरेका छन्। 

उनले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि, हार्वर्ड युनिभर्सिटीबाट पब्लिक एडमिनिस्ट्रेसनमा स्नातकोत्तर र लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा बीएससी गरेका छन्। 

उनी हाल न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त ब्युरोका लागि प्रमुख आर्थिक सल्लाहकार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .