भुक्तानीसम्बन्धी कम्पनी पेटीएमले मुम्बईमा खर्ब बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को तयारी गरेको छ ।
भारतमा डिजिटल भुक्तानी सेवा प्रदान गरिरहेको कम्पनीले दुई अर्ब २० करोड डलर (एक खर्ब ६६ अर्ब भारु) बराबरको आईपीओ ल्याउने तयारी गरेको एजेन्सीहरुले जनाएका छन्।
यससम्बन्धी विवरण कम्पनीले गत शुक्रबार नै दर्ता गरेको छ । खाद्य डेलिभरी कम्पनी जोमाटोले एक अर्ब ३० करोड डलरबराबरको आईपीओ जारी गर्ने बताएको केही दिनपछि नै पेटीएमले खर्ब बढीको आईपीओ निष्काशन गर्ने योजना बनाएको हो । जोमाटोको उक्त परिमाणको आईपीओ प्रविधि क्षेत्रको भारतमा अहिलेसम्मकै ठूलो आकारको भएको बताइएको छ ।
तर पेटीएमले उक्त परिमाणको आईपीओ निष्काशन गरे यो नै अहिलेसम्मको ठूलो आईपीओ बन्नेछ । उक्त आईपीओ निष्काशनपछि कम्पनी २५ अर्ब डलर मूल्यवान् बन्ने अनुमान छ । सफ्टबैंक, बर्कशायर हाथावे र अलिबाबाको एन्ट ग्रुपजस्ता लगानीकर्ताको साथ रहेको पेटीएमले बजारबाट संकलित रकम भुक्तानी सेवालाई थप मजबुत पार्न र नयाँँ व्यवसाय र प्राप्तिमा खर्च गर्ने जनाएको छ ।
सन् २०२० मा फन्डरेजिङ (रकम संकलन) गर्दा नोयडामा रहेको कम्पनी १६ अर्ब डलर मूल्यवान् बनेको थियो । यसको आईपीओलाई लगानीकर्ताले चासो साथ हेरिरहेका छन् । भारतमा एक अर्ब डलर मूल्यवान् रहेका धेरै प्रविधि कम्पनी छन् तर अहिलेसम्म सार्वजनिक कम्पनी बन्ने जोमाटो एक्लो र पहिलो हो ।
पेटीएमको यात्रा सन् २००० मा विजय शेखर शर्माले यसको मातृकम्पनी वान९७ कम्युनिकेसन स्थापना गरेसँगै सुरु भएको थियो । भ्वाइसमा आधारित गेमिङ र कस्टुमाइज्ड रिंगटोनजस्ता सेवाहरु विस्तारअघिस सुरुमा यो मोबाइल सेवा प्लेटफर्मका रुपमा थियो । तर पेटीएम सन् २०१० मा मात्रै स्थापना भयो । प्रिपेड सेलफोन किन्ने र केवल बिलहरु अनलाइनमा भुक्तानी गर्ने कम्पनीको रुपमा यसलाई लिइन्थ्यो ।
सन् २०१२ मा पेटीएमले भारतको केन्द्रीय बैंकबाट स्थापना भएर मोबाइल वालेट सञ्चालनको अनुमति पायो । अहिले यसको मुख्य व्यवसाय नै यही हो । सन् २०१४ मा पेटीएमले उबरसँग साझेदारी गरेको थियो । त्योसँगै भारतमा भुक्तानी सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ मा भारतीय रेलवेको अनलाइन बुकिङका लागि अर्को साझेदारी गर्न खोजेको थियो । भारतीय रेलवेजले वर्षमा साढे दुई करोड टिकट बिक्री गर्छ ।
सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गर्दा कम्पनीलाई अप्ठ्यारो परेको थियो । तर भारतका सयौँ लाख स्मार्टफोन प्रयोगकर्ताले मोबाइल भुक्तानीसम्बन्धी एप प्रयोग गर्नथाले । त्यसमा पेटीएम मुख्य प्राथमिकतामा प¥यो । नोटबन्दीको एकै महिनामा उक्त एपमा एक करोड नयाँ प्रयोगकर्ता जोडिएका थिए । कम्पनीका अहिले ११ करोड ४० लाख मानिस सेवाग्राही छन् ।
Shares
प्रतिक्रिया