सेयरबजारमा आज उछाल आएको छ।
बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर तीन हजार विन्दुनजिक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १९.५५ अंकले बढेको छ।
२ सय २१ कम्पनीको कारोबार भएको बजारमा आज २ करोड ८८ लाख कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा १ लाख १६ हजार २ सय ९४ पटकको खरिदबिक्रीसँगै कारोबार रकम पनि आज ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ।
आज १३ वटै समूहका सूचकहरु हरियो छन्।
पाँचवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा तिनका लगानीकर्ताले आम्दानी गरेका छन्।
हिमालयन पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेको हो।
गुमाउने लगानीकर्ताले भने आजको कारोबारमा ५.३७ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।
आज सर्वाधिक कारोबारमा मञ्जुश्री फाइनान्स अगाडि छ। कम्पनीको ४० करोडको, नबिल बैंकको ३८ करोडको, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३७ करोडको, एनआईसी एसिया बैंकको ३५ करोड र कामना सेवा विकास बैंकको ३३ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया