गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रबर्द्धनात्मक नेपाल फेष्टिभल शनिबार गर्ने भएको छ।
शनिबार १९ नोभेम्बरका दिन नेपालीहरुको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो।
नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरुको प्रचार गरिनेछ।
अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताए।
उनले शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरु, नेपाली व्यवसायीहरुले पाएको सफलताका कथाहरु नेपाल फेष्टिभलमा हेर्न पाइने बताए।
औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।
कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरु सिड्नी आइपुगेका छन्।
अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समुदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए।
यस पटकको नेपाल फेष्टिभलमा ५५ वटा स्टलहरु राखिएको छ। यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरुको छ।
रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरुले नेपाल फेष्टिभलमा आफ्नो उपस्थिति जनाएका छन्।
नेपाल फेष्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समूदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन्। नेपालीलाई त्यहाँ मिहिनेती भनेर चिन्छन्।
काम गर्ने ठाउँमा हाम्रो फेष्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौं भन्दा उनीहरु मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन्। यस्तै नेपाली गीत संगीतले पनि उनीहरुलाई आकर्षित गर्ने गरेको छ।"
यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारहरुका साथै नेपालको चर्चित गायक दीपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपुत, हाँस्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ।
मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेष्टिभलमा सहभागी हुने दर्शकहरुले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन्।
महोत्सवको सुरुवातमा नेपाली पोशाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ।
परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वतीसहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन्।
Shares
प्रतिक्रिया