टोयोटा किर्लोस्कार मोटरले भारतमा विद्युतीय, ब्याट्री इलेक्ट्रिक र हाइब्रिड कारहरु शोकेस गरेको छ। भर्खरै सार्वजनिक गरिएका ती कारहरुमा टोयोटाका मिराइ एफसीईभी (फ्युल सेल इलेक्ट्रिक भेहिकल), एक्वा हाइब्रिड, क्याम्री हाइब्रिड र इक्यु ब्याट्री इलेक्ट्रिक कारहरु रहेका छन्।
यसमध्ये टोयोटा इक्युले आकर्षण तानेको भारतीय मिडियाले उल्लेख गरेका छन्। यो पूर्ण विद्युतीय कार थ्रि–डोर बेसमा पेट्रोल पावर्ड आईक्यु ह्याचब्याकमा आधारित छ। यसलाई महिन्द्राको इ२ओ, स्मार्ट फोरटु इलेक्ट्रिक र एमजीई२०० कै प्रतिस्पर्धी श्रेणीमा राखिएको छ। एमजी२०० अटो एक्स्पोको दौडान सार्वजनिक गरिएको थियो।
पुरानै कार
टोयोटाको ईक्यु सन् २०१२ यता अन्तर्राष्ट्रिय बजारमा उपलब्ध कार हो। अतः यसलाई कतिपयले मिति गुज्रेको (आउटडेटेट) कार समेत भन्ने गरेका छन्। यद्यपि यसको क्षमता र विशेषताको कुरा गर्दा ६३बीएचपी/१६३एनएम इलेक्ट्रिक मोटर र १२ किलोवाट आवर ब्याट्री छ।
सिटी ड्राइभिङका लागि यो उपयोगी कार हो। यसको रेन्जको कुरा गर्दा एकपटकको चार्जले १०० किमि गुड्न सक्छ। सन् २०१० तिर १०० किमि रेन्जको विद्युतीय कार उल्लेखनीय मानिए पनि १० वर्षयता अहिलेको परिस्थितिमा भने यो निकै कम मानिन्छ।
यो एक दशकमा विद्युतीय कारले ठूलै फड्को मारिसकेको छ। कम्पनीहरुले लामो दूरीलाई टार्गेट गर्दै कारहरु ल्याउन सुरु गरेका छन्। सोही कारण अर्को पुस्ताको ईक्यु भने उही मूल्य र तौलका हिसाबले पनि योभन्दा राम्रो हुने अपेक्षा गर्न सकिन्छ।
ईक्यु २०० भोल्टको एसी आउटलेट प्रयोगमा शून्यबाट फुलचार्ज हुन ३ घण्टा लाग्छ। तर डीसी फास्ट चार्ज प्रयोग गर्दा ८० प्रतिशत चार्ज १५ मिनेटमै हुने कम्पनीको दाबी छ। यो हिसाबमा भने ईक्युलाई आकर्षक मान्न पनि सकिन्छ। यो कारमा दुईवटा ड्राइभ मोडहरु छन्, नर्मल र पावर। सहरका लागि उपयुक्त मानिएको यो कारमा रहेको इलेक्ट्रिक मोटरले शून्य आरपीएममा पिक टर्क उत्पादन गर्नु यसमा रहेको फाइदा हो।
यो कार भारत र नेपालका सहरमा उपयुक्त हुनेमा दुई मत छैन। झन् प्रदूषणरहित सहरमा जोड दिइरहेको यो सन्दर्भमा ईक्युजस्ता कारहरुको आवश्यकता बढ्ने नै देखिन्छ। यसको मूल्य अहिले नै सार्वजनिक भएको छैन।
प्रतिक्रिया