शान्त वातावरणमा बसेर केही लेखौं भनेपपनि मौका मिल्न हम्मे हम्मे पर्ने। तर आज यस्तै भिडको कोलाहल नै सहि, असार पन्ध्रको अवसरमा केही लेखौं लेखौं लाग्यो।
ऊ बेलाको कुरा, उमेरमा ११–१२ बर्सको थिएँ होला। लाहुरे बाजेहरुले पेन्सन निस्कँदा आएको पैसाले किन्नुभएको बोंगा खेत। तर घरभन्दा निकै टाढा। धान फलाउन उर्वर जग्गा। बीचमा ठेउले खोला बग्छ। खेतको किनार हुँदै दमैखोला बग्छ। खोला नजिक हुँदा धानलाई चाहिने पानीको अपुग हुँदैन।
घर (अहिले माइती) मा आमा, फुपु, माइजुहरु अर्मपर्म गरेर काम गर्नुहुन्थ्यो। पालैपालो खेत रोपाइँदेखि कोदो रोप्ने गोड्ने, गहुँ काट्ने सबै अर्मपर्म मै चल्थ्यो। बोंगाको खेतमा दुई दिनसम्म रोपाइँ चल्थ्यो। बाउसे पनि पालोको पैँचोमा चल्ने। पुसाईहरु, बाबा, मामाहरु पालैपालो। यसरी सहकार्य गरेर रोपाइँ गरेको देख्दा निकै रमाइलो लाग्थ्यो मलाई।
यसैले मलाई रोपाइँ एउटा रोमान्चक परिश्रम लाग्छ। म सानै भएपनि कसले कसरी रोप्नुहुन्छ, खेतको आलिमा कसरी भटमास रोप्ने, कसरी धानको बिउ मुठा बनाउने भन्ने सुक्ष्म रुपमा याद गरेको थिएँ। पछि पछि रोप्न सिकें। आलि बनाउन पनि सिकें।
टाढा खेतमा रोपाइँ हुँदा खाजा (अर्नि) को समस्या हुन्छ जस्तो लाग्थ्यो मलाई। बोंगा खेतमा रोपाइँको बेला बोईहरुले निकै मिठो खेताला खाजा ल्याइदिनु हुन्थ्यो। अघिपछि मखैको भात, चामल, ढिंडो भान्सामा पाकेपनि त्यहाँ रोपाइँमा दिन भने पहेँलो भात (चाम्रे) ल्याइदिनु हुन्थ्यो। चना र केराउको अचार, गोलभेडको अचार र यस्तै मिठामिठा स्वादिष्ट परिकारहरु खेतालाको अर्नि हुन्थ्यो। र, हामी जस्ता भुराभुरीलाई यहि खाजाको पर्खाई हुने। अर्निको समय नहुँदै अर्नि ल्याउने बाटोतिर आँखा तेर्सिएको आफुलाई बाहेक अरुलाई सायदै पत्तो हुन्थ्यो।
नजिकै गड्गडाहट सुसेल्दै बग्ने ठेउले खोलाको धमिलो पानी देख्दा यो मनमा एक प्रकारको डर पैदा हुन्थ्यो। खेत नजिकै कुलो सुकाएर, खोलामा पौडी खेल्ने, भुराभुरी माछा मार्ने गरिन्थ्यो। अनि गाली पनि खाइन्थ्यो।
जीवनका कठिन भोगाइ जहिल्यै सम्झना हुन्छ। रोपाइँमा अल्झेको बालस्मृति अझै धेरै छन्। लेख्न सबै सम्भव नहोला। तर आज असार पन्ध्र भन्दै सामाजिक संजालमा गरिएका पोस्टहरुले केही लेख्न जाँगर लाग्दा यतिसम्म लेख्न मन लाग्यो।
त्यो बेलाको रोपाइँ र आजकालको रोपाइँमा खासै अन्तर त नहोला। तर खेत रोप्ने रोपाहा, बाउसेहरु भने देश र खेतबाट धेरै टाढा गैसकेको अवस्था छ। देश चाहिँ अहिले पनि कृषि प्रधान नै छ। तर कृषि प्रधान देशका खेतका धेरै गरा अहिले बाँझै छन्। धेरै खेतमा बनमारा झारले अतिक्रमण गर्दै मानव वस्तीतिर बाटो सोझ्याएको देखिन्छ। गाउँमा आजकाल खेतीगरेर भन्डारण गर्ने भन्दा बढी आयातित अन्न बालीको खपत भएको देखेको छु। केही बर्षको अन्तरालमा गाउँ फिर्दा आफैले रोपाइँ गरेका खेत र बारीमा पनि पहिरो गएको अनि झार र ढुंगाको थुप्रो लागेको देख्दा मन खिन्न हुन्छ। तर मन खिन्न बनाउने बाहेक अरु के नै पो गर्न सकिन्छ र?
चाहे घर, चाहे खेतबारी!
यी सबै चीजलाई स्याहारसुसार गर्नु पर्ने हुँदोरहेछ। बाल्यकालमा बा आमाले दुखसुख गरेर बनाएको घर अहिले जिर्ण अवस्थामा छ। या के छ भन्नु, अहिले पूर्णरुपमा बेकामे बनिसकेको छ। कुनै चिज वा खेतबारी र घर जसको मेहनतले जोडिएको हुन्छ उसलाई नै बढी मायामोह लाग्दो रहेछ। अरुलाई त्यसको खासै महत्व नहुनसक्छ। मान्छे बाध्यात्मक स्थितिको दास हो, एकातिर सम्हाल्न खोज्छ अर्कोतिर छुट्छ। अर्कोतिर सम्हाले अर्कोतिर छुट्छ।
हामी सुख खोज्न विदेशियौं। त्यो बेलाको अवस्थामा विदेशिनु हाम्रो विवशता थियो। देशभित्र बेरोजगारी वा रोजगार नै भएपनि इमान्दारितापूर्वक गरिने कमाईले दुईछाक पेट भर्न हम्मे पर्ने अवस्था थियो। उस्तै थियो, माओवादी युद्धकालिन अवस्था।
त्यही संक्रमणकालीन समयमा हाम्रा अभिभावक विदेशिनु भएको हो। हङकङमा जन्मेको आधारमा आमा मामाहरु यहाँ आएपछि हामी बग्न सुरु गर्यौं। विदेशिन सुरु गर्यौं। र, आज डिजिटल माध्यमबाट असार पन्ध्रको शुभकामना दिँदैलिँदै छौं।
ह्याप्पी असार!
(जुनु राना हङकङस्थित लेखक हुन्)
Shares
प्रतिक्रिया