आइतबार सम्पन्न नाडा अटो शोका क्रममा विद्युतीय स्कुटर निर्माण गर्ने कम्पनी एनआईयूका स्कुटीको बजार प्रवर्द्धन भएको छ। अटो शोकै क्रममा कम्पनीका ५१ वटा स्कुटीको अग्रिम माग भएको र १६ वटा स्कुटीको बिक्री भएको हो।
यसपटकको नाडामा कम्पनीले विशेष गरी एनजीटी मोडलको स्कुटी सार्वजनिक गरेको थियो। कम्पनीका पुरानो एमसिरिजका स्कुटी बुकिङ भएको बताइएको छ।
पछिल्लो समय सरकारले समेत विद्युतीय सवारीसाधनलाई बढी प्राथमिकतामा राखेको कारण पनि कम्पनीले त्यसको फाइदा उठाउने देखिएको छ। जापानी ब्याट्री र जर्मन कम्पनीको मोटर प्रयोग गरिएका स्कुटी नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले आशा गरेको छ।
नाडामै सार्वजनिक गरेको एनजीटी स्कुटीमा ६० भोल्ट ३५ एएचको रिमुभ गर्न मिल्ने लिथियम आयोन ब्याट्री रहेका छन्। साढे ३ घण्टामा पूरा चार्ज गरेपछि १ सय ३० किमिसम्म स्कुटी चलाउन सकिने कम्पनीले जनाएको छ। यो कम्पनी सन् २०१५ देखि विश्व बजारमा आएको थियो। नेपालमा भने यो कम्पनी आएको २० महिना मात्रै भएको छ।
प्रतिक्रिया