ad ad

बाइक


दुईपांग्रे सवारी खरिदमा आकर्षक अफर : शून्य प्रतिशत डाउनपेमेन्टदेखि ६५ हजारसम्मको छुट

दुईपांग्रे सवारी खरिदमा आकर्षक अफर : शून्य प्रतिशत डाउनपेमेन्टदेखि ६५ हजारसम्मको छुट

नेपालखबर
असार ४, २०७७ बिहिबार ८:२५,

गत वर्ष चैत ११ मा लकडाउन भएसँगै ठप्प भएका अटो व्यवसाय विस्तारै खुल्नथालेका छन्। असार १ देखि लकडाउन खुकुलो भएसँगै अन्य व्यवसायभन्दा दुई पांग्रे सवारीको व्यापार भने राम्रो रहेको व्यवसायीले बताएका छन्।

सार्वजनिक यातायात सञ्चालनमा नआएको तथा चारपांग्रे गाडी धेरै नेपालीले किन्न नसक्ने हुँदा दुईपांग्रेको व्यापार राम्रो रहेको व्यवसायीहरुको भनाइ छ।

‘लकडाउन खुलेसँगै दुई पांग्रे सवारीको व्यापार राम्रो देखिएको छ’, नाडा अटो मोबाइएल एसोसिएसन दुई पांग्रे सवारी समितिका सभापति मिलन बाबु मल्लले भने, ‘नेपालीहरुसंग चारपांग्रे गाडी किन्ने क्षमता कमजोर हुँदा दुई पांग्रे सवारीको व्यापार राम्रो छ।’

कोभिड १९ को संक्रमणका कारण सार्वजनिक यातायातमा हिँड्नुभन्दा दुईपांग्रे सवारी किन्न खोजेको व्यवसायीले बताएका छन्।

कम्पनीहरुले ग्राहकको आकर्षणका लागि नयाँ–नयाँ अफर समेत ल्याएका छन्। दुई पांग्रे सवारीमा नेपालमा बजार हिस्सा धेरै भएका बजाज, यामाहा, होन्डा, टीभीएसलगायतका कम्पनीले आकर्षक अफर ल्याएका हुन्।

‘दुई पांग्रे सवारी बिक्री गर्ने कम्पनीले नेपालमा कहिल्यै नल्याएका राम्रा अफर ल्याएका छन्’, मल्लले भने, ‘मानिस भीडभाडबाट सुरक्षित पनि हुने र राम्रा अफर पनि हुँदा धैरैको चासो दुई पांग्रेमा गएको छ।’

कम्पनीहरुले अनलाइनमार्फत पनि मोटरसाइकल तथा स्कुटर खरिदको लागि अर्डर गर्नसक्ने व्यवस्था मिलाएका छन् भने डाउनपेमेन्ट तथा नगद छुटको समेत अफर गरेका छन्।

कुन कम्पनीका कस्ता अफर?


टीभीएस मोटर
टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले सुरक्षित यात्राको सुरक्षित सहयात्री योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत ब्याजदर वा स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार नगद छुटमध्ये कुनै पनि एक छान्न सक्नेछन्।

कम्पनीले तत्काल डाउनपेमन्ट गर्ने पैसा नहुने ग्राहकलाई शून्य डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरको अफर गरेको छ।

शून्य प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर मोटरसाइकल किन्न सक्ने छन्।

यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नुपर्ने हुन्छ। सुरुवाती ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी कम्पनीले ल्याएको अर्को शून्य प्रतिशत ब्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नुपर्ने हुन्छ।

बजाज
बजाजले १५० सीसीको पल्सरमा शून्य प्रतिशत ब्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिनेछ। यो योजनमा पल्सर १५० टीडी खरिद गर्दा विभिन्न तीन स्किममध्ये एक छनोट गर्नसक्ने कम्पनीले जनाएको छ।

रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन्। बजाज पल्सर ट्विन डिस्कको मूल्य २ लाख ६८ हजार ९ सय रुपैयाँ रहेको छ। ४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन्। दुई वर्षको अवधिमा किस्ता चुक्ता गर्नुपर्ने कम्पनीले जनाएको छ।

बजाजले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउनपेमेन्टसहितको अफर समेत ल्याएको छ।

यमाहा
नेपालका लागि यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ।

ग्राहकले तीन वर्ष अवधिका लागि शून्य डाउनपेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ। साथै, ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन्।

यमाहाले सबै प्रकारका मोटरसाइकल तथा स्कुटरहरुमा १० हजार रुपैयाँ नगद छुट समेत व्यवस्था गरेको बताएको छ।

होन्डा
होन्डाले अनौठो योजना ल्याएको छ। सुन्दा अचम्म लाग्ने १ रुपैयाँ डाउनपेमेन्ट गरेर होण्डाको बाइक वा स्कुटर आफ्नो बनाउन सकिन्छ।

होण्डाको यो स्किमअन्तर्गत १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँ ईएमआई वा १ प्रतिशत ब्याजदरमा होण्डाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ। होन्डाले ४ प्रकारका स्किम सार्वजनिक गरेको छ ।

पहिलो स्किमअन्तर्गत ग्राहकले १ रुपैयाँ मात्र डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर आफ्नो बनाउनसक्ने कम्पनीले जनाएको छ। उक्त सवारीको किस्ता अवधि धेरैमा ३ वर्षको हुनेछ।

दोस्रो योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर ४० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गरे ३ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ६ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ६० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गरे ९ महिनासम्म मासिक १ रुपैयाँ किस्ता र ७० प्रतिशत डाउनपेमेन्ट गरेर खरिद गरे १ वर्षसम्म मासिक १ रुपैयाँ किस्ता तिरे पुग्ने योजना सार्वजनिक गरेको छ।

तेस्रो स्किमअनुसार ग्राहकले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन्। लोनको अवधि बढीमा १ वर्षको हुनेछ भने डाउनपेमेन्ट ६० प्रतिशत गर्नुपर्नेछ।

अन्तिम स्किमअनुसार न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट गरेर होण्डाको मोटरसाइकल वा स्किुटर खरिद गर्न सकिनेछ। यसमा लोन अवधि ग्राहकको इच्छाअनुसार बढीमा ३ वर्षसम्म गर्न सकिनेछ।

केटीएम
केटीएमको लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको बम्पर योजना सार्वजनिक गरेको हो।

केटीएमको ड्यूक २५० मोटरसाइकल खरिद गर्दा ग्राहकले ४० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन्। यसका साथै फाइनान्सको सुविधासमेत उपलब्ध रहेको छ ।

ग्राहकले केही प्रतिशत डाउनपेमेन्ट गरेर समेत केटीएम ड्यूक २५० मोटरसाइकल किन्न सक्नेछन्।

बीएमडब्लू
बीएमडब्लू मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक टर्क मोटर्सले ६५ हजारबराबरको छुट अफर सार्वजनिक गरेको हो।

कम्पनीले ल्याएको अफरमा सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

टर्क मोटर्सले ल्याएको अफरमा दुई अप्सन उपलब्ध छ। जसमा बीएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोब्स र विभिन्न एसोसरिजहरु अफर गरिएको छ। यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने जनाइएको छ।

त्यसैगरी दोस्रो अप्सनमा हेल्मेट, इन्स्योरेन्स र तीन वर्षसम्मको बीमा उल्लेख गरिएको छ । यस अफरमा पनि ग्राहकले ६५ हजारबराबरको छुट पाउने बताइएको छ।

भेष्पा र अप्रिलिया
भेष्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले ५ हजार छुट, २ आर्थिक वर्षको कर तिर्नु नपर्ने, निःशुल्क एसोसोरिज पाउनेलगायतका अफर सार्वजनिक गरिएको छ ।

त्यस्तै स्कुटर अनलाइनबाट पनि अर्डर गर्न सकिने र तुरुन्तै डिलिभरी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .