ad ad

बागमती


लागुऔषधको ‘ट्रान्जिट प्वइन्ट’ मकवानपुर : दुई महिनामै २९ जना पक्राउ

लागुऔषधको ‘ट्रान्जिट प्वइन्ट’ मकवानपुर : दुई महिनामै २९ जना पक्राउ

सुनिता विष्ट
असोज ६, २०८१ आइतबार ११:६, हेटौँडा

गत भदौ ३० गते आइतबार बिहान ५ बजे हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेमा चेकजाँचका क्रममा बा २१ प ५२२६ नम्बरको पिकअप गाडीमा २३० किलोग्राम लागुऔषध गाँजा फेला पर्‍यो।

त्यसपछि प्रहरीले गाडीसहित त्यसमा सवार धादिङको थाक्रे गाउँपालिका-४ बस्ने ३४ वर्षका जीवन मगर र सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने ३० वर्षका प्रदीप क्षेत्रीलाई नियन्त्रणमा लियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सो गाँजा भारत पुर्‍याउन ल्याइएको देखाएको छ। पक्राउ परेका मगर र क्षेत्रीविरुद्ध जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उक्त गाँजा बरामद भएको ९ अघि मात्र भदौ २१ गते पनि मकवानपुर प्रहरीले १४ किलोग्राम गाँजासहित धादिङकै दुईजनालाई पक्राउ गरेको थियो। 

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको बसमा लुकाएर राखिएको अवस्थामा २८ वटा पोका गाँजा फेला पर्‍यो।

प्रहरीले सोही गाडीमा सवार  धादिङको गजुरी गाउँपालिका-८ बस्ने ४२ वर्षका केदार तामाङ र सोही स्थानका ३६ वर्षका सुकमान तामाङलाई नियन्त्रणमा लियो। 

पछिल्ला यी दुई घटना त प्रतिनिधि मात्रै हुन्।

छिमेकी देश भारतको सिमानानजिक रहेको मकवानपुरमा प्रहरीले बर्सेनि सयौँ किलो गाँजा बरामद गर्ने गरेको छ।

गाँजा मात्रै होइन, अफिम, खैरो हेरोइन, चरेस, क्लोरेस, नाइट्रोभेटजस्ता अन्य लागुऔषध पनि ठूलो मात्रामा बरामद हुने गरेको जिल्ला प्रहरी कार्यालय (मकवानपुर) को तथ्यांकले देखाउँछ।

चालु आर्थिक वर्ष २०८१/०८२ का दुई महिना अर्थात् साउन र भदौमा मात्रै लागुऔषध ओसारपसारमा मकवानपुर प्रहरीले २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

यो अवधिमा ४०२ किलो ९ ग्राम गाँजा बरामद गरिएको उनले बताए। 

यस्तै अफिम १ ग्राम, खैरो हेरोइन २ ग्राम, चरेस ३० किलो २५० ग्राम र ३ सय क्याप्सुल नाइट्रोभेट बरामद गरिएको डीएसपी भण्डारीले जानकारी दिए। यसका लागि प्रयोग गरिएका ५ सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौँडा-पथलैया-वीरगन्ज सडक भएर छिमेकी मुलुक भारत पुग्न छोटो दूरी पर्छ। सो राजमार्गबाट मकवानपुर प्रहरीले बर्सेनि ठूलो मात्रामा गाँजासहितका लागुऔषध बरामद तथा सयौँ मानिस पक्राउ गर्ने गरेको छ। 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ५ किलो ७ सय ग्राम गाँजा तथा १४ किलो १६० ग्राम अफिम, ५१ ग्राम खैरो हेरोइन, २१ किलो चरेस, १ हजार ५४० बोतल क्लोरेक्स, ४ हजार ४०२ ट्याबलेट नाइट्रोभेट र ३ हजार ९८१ एम्पुल डाइजेपाम बरामद गरिएको छ।

सो घटनामा  २४८ जना पक्राउ परे भने उनीहरूविरुद्ध १५३ मुद्दा दर्ता भएका छन्। अनि उक्त लागुऔषध ओसारपसारमा प्रयोग गरिएका ४० सवारीसाधनलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारी बताउँछन्।

गत आर्थिक वर्ष २०८०/८१ मा झन् सो मामिलामा पक्राउ पर्नेको संख्या बढेको छ।

गत आर्थिक वर्ष लागुऔषधसहित २४९ जना मकवानपुर नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ। जसमा गाँजा ३ हजार ९३६ किलो १० ग्राम, अफिम १३ किलो ४० ग्राम, खैरो हेरोइन ७८ ग्राम, चरेस १०४ किलो ५४४ ग्राम, क्लोरेक्स १ हजार २०७ बोतल, नाइट्रोभेट २ हजार ५७५ ट्याबलेट र ४ हजार ४२६ एम्पुल डाइजेपाम बरामद भए। 

डीएसपी भण्डारीका अनुसार उक्त आर्थिक वर्षमा लागुऔषध ओसारपसारमा प्रयोग गरिएका ३९ सवारीसाधन पनि नियन्त्रणमा लिइयो।

भारतसँगको खुला सीमामा कारण मकवानपुरमा लागुऔषध कारोबार व्यापक हुने गरेको छ। सो नियन्त्रणका लागि सुरक्षा जाँचमा कडाइ गर्दा पक्राउ पर्ने क्रम पनि बढेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .