ad ad

बागमती


बजेटमाथिको छलफलमै अड्को, अर्थमन्त्रीप्रति कांग्रेस कठोर

बजेटमाथिको छलफलमै अड्को, अर्थमन्त्रीप्रति कांग्रेस कठोर

सुनिता विष्ट
असार ६, २०८१ बिहिबार २२:२, हेटौंडा

बागमती प्रदेश सभाको बैठक बिहीबार बस्यो। सरकारले शनिबार ल्याएको बजेटमाथि छलफल गर्ने कार्यसूची राखेर प्रदेश सभाका सभमुख भुवन पाठकले बैठक आह्वान गरेका थिए। सोही कार्यसूची अनुसार बिहीबार दिउँसो बैठक सुरु भयो। 

बैठकको सुरुवात भएपछि सभामुख भुवनकुमार पाठकले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटमाथिको छलफलको प्रस्ताव पेस गर्न रुलिङ गरे।

सभामुख पाठकको रुलिङपछि अर्थमन्त्री थपलियाले उक्त प्रस्ताव पेस गर्न उठेर रोष्टमसम्म जाँदै गर्दाकै अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको घेराबन्दी सुरु भयाे। 

कांग्रेसका सांसदहरुले बसेको स्थानबाट उठेर अर्थमन्त्रीले पेस गर्ने प्रस्तावमाथि विमत्ती जनाउँछन्। कांग्रेसलाई प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि साथ दिंदै बजेटविरुद्धको आवाजमा ऐक्यवद्धता जनायो।

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा उठेपछि राप्रपाका बाँकी सांसदहरु पनि सरकारको विरुद्धमा उत्रिए। कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले रोष्टममा पुगेका अर्थमन्त्री थपलियालाई रोक्ने प्रयास गर्दै बोल्न खोजे। 


संसदको भित्रको स्थिती बिग्रिएपछि अर्थमन्त्री थपलिया रोष्टमै नपुगी फर्किए। प्रतिपक्ष दलले प्रदेशसभा बैठक अवरोध गरे। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्।

उनीहरूले संसद् बैठकमा नाराबाजी समेत  गरेका छन्। सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाए।

प्रदेश सभा सभामुख भुवनकुमार पाठकले पटक-पटक सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेपनि प्रतिपक्षी दलहरुले नारबाजी गर्न नछोडेपछि प्रदेश सभा बैठक केहीबेरका लागि स्थगित भयो।

प्रदेश सभाकै ठूलो दलको हैसियतमा रहेको प्रमुख प्रतिपक्षी दलको विरोधले बजेटमाथिको छलफल कार्यक्रम नै अन्यौल बन्यो। प्रदेश सभाका सभामुख पाठकले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना दिए। 

बजेट पुनः लेखन गर्न माग
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद सञ्चालन गर्न नदिने बताए। नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्बबढी बजेट राखिएको बताए।

बजेटमा आर्थिक अराजकता देखिएको उनले आरोप लगाए। वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उनको भनाई थियो।

‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ,’ उनको प्रश्न थियो, ‘वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको छ। कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो? सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको छ।’ 

‘प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गरिएकोमा १.८ प्रतिशत मात्र रहेको छ। जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ । प्रदेश सरकारको कार्यक्रम प्रभावकारी नहुँदा आर्थिक वृद्धि दर समेत कम भएको हो’ उनले थपे।

सरकारले संसदलाई नै असक्षम र असफल बनाउने काम गरिरहेको उनको आरोप छ। आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको उनले दाबी गरे। बजेटमा आय र व्ययको हिसाब समेत मिलाउन नसकेको लामोको भनाइ छ।

उनका अनुसार नीति तथा कार्यक्रमको तारतम्य र बजेटको प्राथमिकता नै निर्धारण हुन सकेको छैन। बजेटले आर्थिक सामाजिक भौगोलिक विषयलाई सन्तुलित गर्न नसकेको उनको भनाई छ। साना-साना योजनामा बजेट हाल्दा कार्यान्वयन र नियमनमा समस्या हुने उनको भनाई छ। 

अघिल्लोपटक एमालेले गरेको थियो अवरोध
त्यसो त, २०८० असार १ मा चालु आर्थिक बर्षको बजेट ल्याउँदा कांग्रेस सरकारमा थियो। कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा अर्थमन्त्री थिए। 

वर्तमान अर्थमन्त्री एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया प्रमुख प्रतिपक्षी दलको भूमिकामा थिए। ७ राजनीतिक दल रहेको बागमती प्रदेश सभामा तत्कालिन समयमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी गरी तीन दलको राजनीतिक सत्ता गठबन्धन थियो। 

उतिबेला पनि प्रमुख प्रतिपक्षी दललाई राप्रपाले उत्तिकै साथ दिएको थियो। बजेट सन्तुलित नभएको भन्दै एमालेले विरोध गरेपछि चारदलबीच सहममि भएपछि मात्रै बजेट सदनबाट पास हुन पायो। 

माओवादीका संसदीय नेता तथा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, एमालेका संसदीय नेता थपलिया, कांग्रेसका संसदीय दलका नेता लामा र राप्रपा संसदीय दलका नेता उद्धव थापाबीचमा तीन बुँदे लिखित सहमति भएपछि मात्रै सदनबाट बजेट पास गराउन सरकारलाई ढोका खुलेको थियो। यद्यपि, बजेट पास भएपनि पटक-पटक सहमति कार्यान्वयनको बिषयमा एमालेले विरोध गर्दै आएको थियो। 

सोही बेलाको रिस साँध्ने मौका हाल कांग्रेसलाई मिलेको छ। एमालेले ल्याएको बजेट सन्तुलित नभएको भन्दै विरोध गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सजिलै बजेट पास गराउन दिने सम्भावना क्षीण छ। 

त्यसो त, बजेट ल्याउनुअघि मुख्यमन्त्री जम्मकट्टेल, आर्थिक मामिला मन्त्री थपलिया, प्रमुख प्रतिपक्षी दलका नेताहरु तथा प्रतिपक्षी दलका नेता तथा सांसदहरुसँग छलफल गरेर समझदारी बनाइए पनि अन्तिममा अर्थमन्त्री थपलियाले बजेट हेरफेर र थपघट गरेको नेताहरूले आरोप लगाएका छन्। 

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार पक्षका ५७ सांसद छन्। सभामुख बाहेक प्रतिपक्ष दलका ५२ सांसद छन्। 
तीन दल प्रतिपक्षमा रहँदा सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारमा छन् भने नेपाली कांग्रेस, राप्रपा र नेमकिपा सरकारको प्रतिपक्षी दलको भूमिका छन्।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .