ad ad

सुदूरपश्चिम


माओवादी सुदूरपश्चिम : खगराजलाई दलको नेतामा फर्काउन प्रचण्ड तयार !

प्रचण्डको प्रस्तावमा मानबहादुरको अड्को, बहुमत सिद्ध गर्न चुनौती
माओवादी सुदूरपश्चिम : खगराजलाई दलको नेतामा फर्काउन प्रचण्ड तयार !

गोकुल जोशी
असार ६, २०८१ बिहिबार २२:२५, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले २८ जेठमा सरकार विस्तार गरे। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट तीन जना सरकारमा सामेल भए।

माओवादी सांसद ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालय पाउँदा अक्कलबहादुर रावल र लक्ष्मी विक विना विभागीय मन्त्री छन्। तर माओवादीबाट मन्त्रीको नाम सिफारिसको विषयले पार्टीभित्र मच्चिएको भाँडभैलो अझै साम्य भएको छैन। 

मन्त्रीको नाम सिफारिस गर्दा दल नेता मानबहादुर धामीले पार्टी र संसदीय दलमा छलफल नगरी एकलौटी गरेको खगराज भट्ट पक्षधर सांसदको आरोप छ। ५ सांसदले मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण पत्र नै लेख्दै मन्त्री नियुक्त रोक्न माग गरेका थिए। 

माघमा खगराज भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामी माओवादी सुदूरपश्चिम संसदीय दल नेता बनेपछि सुरु भएको कलह मन्त्रीको नाम सिफारिससम्म देखा परेको छ। 

बहुमत सांसदलाई साथमा लिएर धामीले खगराजलाई दल नेताबाट पदमुक्त गरेपछि उनीहरुबीच सम्बन्ध सुमधुर छैन। धामी पक्षमा खुलेका मन्त्रीका आकांक्षी शिवसिंह ओलीले सरकारमा स्थानमा नपाएपछि उनी खगराजको कित्तामा उभिएका छन्।

इन्चार्ज र दल नेता खोसिएपछि माओवादीमा किनाराकृत हुँदै गएका खगराज संसदीय दल नेतामा फर्किन जुर्मुराएका छन्। तर उनको पक्षमा परिणाम आउने गरी अंकगणित देखिएको छैन।
 
अल्पमतमा रहेका उनलाई सांसद ओलीको साथले बराबरीमा पुर्‍याएर हौसला बढाएको छ। सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्। दुई समूहमा विभक्त माओवादीको संसदीय दलभित्रको आन्तरिक समिकरण रोचक छ। 

सांसद ओली खगराजको कित्तामा उभिँदा मानबहादुर धामी र खगराज दुवै समूहमा ५-५ सांसद छन्। खगराजसंग ओलीसहित यसअघि कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बसेका रमेश धामी, झपडबहादुर साउँद र जानकी देवी कुँवर छन्। 

मानबहादुर धामीको कित्तामा सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विना विभागीय मन्त्रीद्धय अक्कलबहादुर रावल, लक्ष्मी विक र पूर्वराज्यमन्त्री गीता माल छन्। 

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको आन्तरिक अंक गणितबारे जानकार प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खगराजलाई दल नेता बनाउन प्रस्ताव गरेका छन्। 

सुदूरपश्चिम सरकारमा सामेल माओवादी मन्त्रीलाई फिर्ता बोलाउँदा राम्रो सन्देश नजाने भएकाले अहिले उनीहरुलाई यथावत् राख्न दाहालले सांसदहरुलाई भनेका थिए।

अध्यक्ष दाहाललाई भेटन् गएका माओवादी सांसदहरु अहिले काठमाडौंकेन्द्रीत भएका छन्। असार ३ गते अध्यक्ष दाहालले सांसदहरुसंगको छलफलमा खगराजलाई दल नेतामा फर्काउन प्रस्ताव गरेपनि माओवादीको विवाद अझै साम्य हुन सकेको छैन।

दाहालको प्रस्तावमा मानबहादुर धामीले अड्को थापेका छन्। उनले बहुमत सिद्ध गरेर दल नेता बन्न खगराजलाई चुनौती दिएका छन्। ‘खगराज सिनियर नेता हो। उहाँलाई दल नेता मानेर जानुस्। यसले पार्टीमा देखिएको विवाद सकिन्छ भनेर अध्यक्ष कमरेडले भन्नुभएको थियो,’ माओवादी सांसद रमेश धामीले भने, ‘पार्टीभित्र अध्यक्ष कमरेडको निर्देशन मान्नुपर्छ। उहाँले निर्देशन नमानेर के गर्न खोज्नु भएको हो बुझ्न सकिएको छैन।’

मानबहादुर धामी माओवादीका केन्द्रीय सदस्य हुन भने खगराज स्थायी कमिटी सदस्य। धामीले स्थायी कमिटीमा स्थान खोजेका छन्। अध्यक्ष दाहाल पनि यसमा सकरात्मक रहेको स्रोत बताउँछ। 

दाहालको प्रस्तावकाबीच मानबहादुर समूहका सांसदहरु प्रक्रिया पूरा गरेर खगराजले दल नेता बन्नु पर्ने जिकिर गर्छन्। ‘अध्यक्षले खगराजलाई दल नेता बनाउनुपर्छ भनेर आधिकारिक निर्देशन दिनुभएको छैन्। उहाँ(खगराज)लाई दल नेता बनाएर जान सकिने प्रस्ताव गर्नुभएको हो,’ माओवादी सांसद गीता माल भन्छिन्, ‘तर दल नेता बन्न प्रक्रिया पूरा गर्नुपर्छ। बहुमत सिद्ध गरेर देखाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .