नेकपा एमाले धादिङको नवौं अधिवेशनमा आगामी कार्यकालको नेतृत्वको लागि उम्मेदवारी दिएका डा. रामकुमार अधिकारी पराजित भए। उनको प्रतिस्पर्धी भूमि त्रिपाठी ७१ मतान्तरले विजयी भए।
४ मंसिर २०७९ को आम निर्वाचनमा प्रदेश सभामा पराजित भएका अधिकारीलाई पार्टीको नेतृत्वमा समेत सफलता मिलेन। २०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा बिजयी भएका अधिकारी बागमती प्रदेश सरकारको पूर्वसामाजिक विकास राज्यमन्त्री समेत हुन्।
सोही क्षेत्रबाट प्रदेशमै दोहोरिन चाहेका अधिकारीलाई गत आम निर्वाचनमा मतदाताको साथ कमजोर रह्यो। राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान नेपालको वैज्ञानिकको सूचिमा समेत रहेका डा. अधिकारी धादिङमा एमालेका प्रभावशाली नेताको रुपमा चिनिन्छन्।
तर एमालेका बहुमत प्रतिनिधिहरु त्रिपाठीका पक्षमा उभिँदा अधिकारीको मतपरिणाम कमजोर आएको हो।
त्यसोत, पराजित अधिकारीले आफूले हारेर त्रिपाठी जितेपनि समग्रमा एमालेको जित भएको बताएका छन्।
‘निर्वाचन प्रणालीमा एउटाले जित्ने निश्चित थियो’ उनले भने, ‘उम्मेदवारको संख्या जति भएपनि जित्ने एउटाले हो भन्ने थाहा थियो नै। म यो निर्वाचनमा पराजित भएपनि निर्वाचित हुनुभएको भूमिजीकै साथमा रहनेछु। कार्यसम्पादनमा सहयोग गर्नेछु।’
Shares
प्रतिक्रिया