मौसम सफा भएसँगै काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ह्वात्तै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियसमा उक्लिएको हो।
बुधबार उपत्यकाको अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियस थियो।
मौसम सफा भएर दिनभर घाम लागेपछि अधिकतम तापक्रम बढेको हो।
तर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने बुधबारको तुलनामा आज घटेको छ।
महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको हो। बुधबार यहाँको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार मौसम सफा भएर राति आकाशमा बादल लागेन भने न्यूनतम तापक्रम घट्छ भने राति आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया