ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। एक हजार दुई सय क्षमताको कारागारमा हाल पुर्पक्षका लागि थुनामा राखिएका र जेल चलान भएका गरी एक हजार पाँच सय सात जना छन्।
क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन्। तर अब कैदीबन्दी थपिएमा भने व्यवस्थापनमा समस्या हुन सक्नेछ।
हाल नख्खु कारागारमा ६ सय ९५ जना पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक छन्।
त्यसैगरी, आठ सय १२ कैदीबन्दीमध्येमा ५७ विदेशी नागरिक छन्। कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए।
हाल कारागारमा तीन ब्लक छन्। पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएका छन्।
कारागार प्रशासक कल्पना घिमिरेका अनुसार सीआर र डीआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ । कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिइन्।
उनले भनिन्, ‘कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ । कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ। पढ्न चाहानेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था छ।’
कारागारभित्र खेलकुद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराइरहेको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताइन्। रासस
Shares
प्रतिक्रिया