सवारी दुर्घटना न्युनिकरण गर्न नसक्दा हजारौंले ज्यान गुमाउने गरेका छन्। नेपालमा कोरोना महामारी फैलिएको ८ महिनाको अवधिमा १२ सयले ज्यान गुमाउँदा लामो दूरीका यातायात नचलेको अवस्थामा पनि दुई महिनामै सवारी दुर्घटनाका कारण ४ सय बढीले ज्यान गुमाएका छन्।
कोभिड १९ को महामारी रोकथामकालागि चैत ११ देखि लगाइएको लकडाउन जेठ अन्तिममा खुकुलो बनाइएको थियो। जसमा निजी सवारी साधन मात्रै गुड्न पाउने व्यवस्था गरिएको थियो। सरकारले साउनदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि अनुमति दिएको थियो ।
लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित बढेको भन्दै भदौमा करिब ४४ जिल्लाले निषेधाज्ञा जारी गरे। अत्यावश्यक सवारी साधन बाहेक सबै निषेध गरिएको थियो।
नेपाल प्रहरीको तथ्यांक अनुसार साउन र भदौमा मात्रै सवारी दुर्घटनामा ४ सय १३ जनाले ज्यान गुमाएका छन्। १२ सय ९० गम्भीर घाइते भएका छन् भने ३ हजार ३६१ जना सामान्य घाइते भएका छन्। लामो दूरीका सार्वजनिक यातायात नचलेको तथा अधिकांश जिल्लामा निषेधाज्ञा रहेको बेला यति धेरै दुर्घटना हुनु कोरोना महामारी जत्तिकै चिन्ताको विषय हो।
विज्ञहरुले सवारी दुर्घटनाको कारण तीब्र गति, चालकको लापरबाही, सडक पूर्वधारको नाजुक अवस्था, ट्राफिक व्यवस्थापनमा कमी बताउँदै आएका छन्।
प्रहरी कार्यलयको तथ्यांक अनुसार सबैभन्दा बढी ज्यान गुमाउने लुम्बिनी प्रदेशका रहेका छन्। त्यसपछि वागमति र प्रदेश १ रहेको तथ्यांकले देखिएको छ। कर्णाली प्रदेशमा ज्यान गुमाउनेको संख्या कम रहेको छ। अन्य प्रदेशको तुलनामा कम सवारी चल्ने हुँदा ज्यान गुमाउने संख्या पनि कम देखिएको हो। सवारी सञ्चालनको अनुपातमा भौगलिक स्थितिको कारण कर्णाली प्रदेशमा ठुला दुर्घटना हुने गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ को चार महिना लकडाउनका कारण सवारी साधन ठप्प रहेका थिए। अत्यावश्यक केहि सवारी मात्रै सञ्चालनमा आएका थिए। गत वर्षको ८ महिना २२ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ६१७ गम्भीर घाइते भएका छन्। ११ हजार बढी सामान्य घाइते भए। कोरोना महामारीको ८ महिनाको तुलानामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ।
आर्थिक वर्ष ७५/७६मा देशभर सवारी दुर्घटनाको कारणबाट मात्रै २७ सय ८९ जनाले ज्यान गुमाएका थिए। ४ हजार ३७६ गम्भिर घाइते हुँदा १० हजार ३ सय सामान्य घाइते भएको तथ्यांकले देखाएको छ।
काठमाडौं उपत्यकाको अवस्था पनि चिन्ताजनक
उपत्यकामा लकडाउन तथा निषेधाज्ञाको कारण यो वर्ष सवारी दुर्घटना घटेपनि नियमित सवारी सञ्चालन हुँदा दैनिक दुर्घटना हुने गरेका छन्।
लकडाउनकै समयमा काठमाडौं उपत्यकामा हजार बढी दुर्घटना भएका छन्। लकडाउन शुरु भएको चैतमा ४ सय ३८, बैशाख २०१, जेठ २३६ असारमा ५ सय ७७ दुर्घटना भएका छन्। चैत, वैशाख, जेठमा अत्यावश्यक सवारी मात्रै चलेका थिए भने असारमा जोर विजोर नम्बरका आधारमा निजी सवारी साधन पनि सञ्चालनमा आएका थिए।
चालु आर्थिक वर्षको तीन महिनामा २९ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। गतवर्ष सोही अवधिमा १५३ जनाले ज्यान गुमाएउँदा २४० जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष २०७५/७६मा सवारी दुर्घटनाको कारण २५४ जनाले अकालमै ज्यान गुमाएका थिए।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै भन्दा बढी मोटरसाइकल तथा स्कुटर चालकले ज्यान गुमाउने गरेका छन्। उपत्यकामा आर्थिक वर्ष २०७५/७६ मा ९३ जना पैदलयात्रुले ज्यान गुमाएका थिए।
उपत्यकामा दुर्घटना गराउने सवारीमा मोटरसाइकल तथा स्कुटर पहिलो नम्बरमा रहेका छन्। त्यसपछि ट्रक र टिपर रहेका छन्। ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही भएको उल्लेख गरेको छ। त्यसका अलवा तीब्र गति, मापसे, यान्त्रिक गडबडी रहेका छन्।
Shares
प्रतिक्रिया