ad ad

अटो


दशैँलक्षित अफरले दुईपांग्रे अटो बजार विस्तारै अघि बढ्दै

दशैँलक्षित अफरले दुईपांग्रे अटो बजार विस्तारै अघि बढ्दै

नेपालखबर
असोज १५, २०७७ बिहिबार ८:१२,

असोज १ देखि खुलेको दुईपांग्रे अटो बजारमा विस्तारै चहलपहल सुरु भएको छ। दुईपांग्रे अटो व्यवसायीले दशैँलक्षित अफरका कारण केही चहलपहल बढेको बताएका छन्।

हरेक वर्ष सर्वाधिक बिक्री हुने दशैँको समयमा विभिन्न कारणले त्यो रौनक भने नरहेको व्यवसायी बताउँछन्। असोज १ पछिको व्यापारको तुलनामा लकडाउन खुकुलो भएपछि असारको व्यापार राम्रो रहेको व्यवसायीको भनाइ छ।

नाडा अटोमोबाइल एसोसिएन अफ नेपाल दुई पांग्रे समितिका सभापति मिलन बाबु मल्लले अटोबजार चहलपहल बढे पनि उत्साहजनक भने नरहेको बताएका छन्।

‘लकडाउन खुकुलो भएपछि राम्रो व्यापार भएको थियो। तर उठ्न लागेको अटो बजार निषेधाज्ञाले ब्रेक लगायो’, मल्लले भने, ‘दशैँ आउन लागे पनि गत वर्षजस्तो छैन। पूरै निराश हुने अवस्था पनि होइन।’

चैत ११ देखि गरेको लकडाउनका कारण ठप्प रहेको अटो बजार असारमा लकडाउन खुकुलो भएसँगै व्यवसायमा रौनक थपिएको थियो। सधैँ नाडा अटो शो तथा दशैंमा स्किम ल्याउने अटो व्यवसायीले ठप्प रहेको अटो बजारलाई चलायमान बनाउन आकर्षक अफर ल्याएका थिए।

यो पनि–
‘अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा’

दुई पांग्रेको बजार करिब ८० प्रतिशतसम्म पुनर्स्थापना भएको व्यवसायीले बताएका थिए। भदौमा देशका मुख्य सहरमा निषेधाज्ञा हुँदा फेरि अटो बजार ठप्प भयो।

‘दुई पांग्रे व्यवसायीले दशैँलक्षित आकर्षक अफर ल्याएका छन्’, यामाहाको डिलर समेत रहेका मल्लले भने, ‘अफरमा चासो राख्नेहरु छन् खरिद गर्ने कम रहेका छन्।’

उनले मलमास, दशैँ पेस्कीलगायतका कारण अहिले खरिद गर्ने कम भएको बताए। ‘मलमास र दशैँ पेस्की आएपछि अझै व्यापार हुने विश्वास छ’, मल्लले भने।

जगदम्बा मोटर्सका सेल्स हेड दीपक रौनियारले समेत तराईमा मलमासको कारण बिक्री एकदम कम भएको बताए।

‘मलमासमा नयाँ गाडी किन्नुहुन्न भन्ने नेपालको धेरै ठाउँमा व्याप्त रहेको छ’, रौनियारले भने, ‘घटस्थापनापछि दुई पांग्रे बजारमा अझ रौनिक थपिने विश्वास छ।’

उनले कोभिडका १९ को कारण केही समय ठप्प रहेको अटो बजार विस्तारै चहलपहल सुरु भएको बताए।

यो पनि–
भेस्पा, अप्रिलियाको बडा दशैँ तिहार योजना सार्वजनिक

‘अटो बजार पूरै ध्वस्त हुन्छ कि भन्ने चिन्ता पनि थियो। तर अहिलेको व्यापार हेर्दा धेरै चिन्ता गर्ने अवस्था छैन। अन्य अटोको बिक्रीभन्दा दुईपांग्रेको व्यापार राम्रो देखिन्छ’, रौनियारले भने।

कोभिड १९ को कारण दुईपांग्रे अटो बजारले ठूलो फड्को मार्ने अटो व्यवसायीको विश्लेषण रहेको थियो।

सार्वजनिक यातायात स्वास्थ्य सुरक्षाको बढी डर हुँदा दुईपांग्रे सवारीको व्यापारमा उल्लेख्य वृद्धि हुने धेरै व्यवसायीको आँकलन थियो। तर कोभिड १९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण धेरैको आम्दानी गुम्दा चाहेर पनि साधन खरिद गर्न सकेनन्।

हरेक वर्ष कामदारले दशैँमा बोनस तथा पेस्की पाउँदा सवारी खरिदलाई प्राथमिकतामा राख्ने गर्थे। यो वर्ष आर्थिक क्रियाकलाममा कमी हुँदा धेरैले बोनस तथा पेस्की पाउने अवस्था कम छ। यसको प्रत्यक्ष असर अटो बजारमा पर्ने व्यवसायीको भनाइ छ।

अप्रिला तथा भेष्पा स्कुटरकी ब्राण्ड म्यानेजर करुना पुडासैनीले दशैँ सुरु भए पनि दुईपांग्रेमा अझै दशैँ सुरु नभएको बताइन्।

यो पनि–
बजाजले ल्यायो चाडपर्वलक्षित नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको अफर

‘गत वर्ष दशैँमा धेरै चहलपहल हुन्थ्यो। हाम्रो स्कुटरको बिक्री पनि राम्रै हुन्थ्यो’, पुडासैनीले भनिन्, ‘पूरै निराश हुने अवस्था त होइन तर दशैँमा अलि राम्रो व्यापार हुने आशा थियो। अझै समय छ, हेरौँ।’

अधिकांश दुईपांग्रे अटो व्यवसायीले दशैँलक्षित स्किम सार्वजनिक गरेका छन्। दशैँको बेला दुईपांग्रे खरिद गर्नेले बम्पर पुरस्कार, स्क्रयाच कुपन, नगद छुट, १ वर्षको सडक दस्तुर फ्रि र ५० प्रतिशत डाउन पेमेन्ट बाइक तथा स्कुटर खरिद गर्दा ऋणको ब्याज तिर्नु नपर्नेजस्ता स्किम रहेका छन्।

यो पनि–
सुजुकीले ल्यायो दशैँ तिहार अफर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .