गाडी तथा पार्टपुर्जा उत्पादन गर्ने कम्पनीको काम कोरोना भाइरसका कारण प्रभावित बनेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि गाडी उत्पादक कम्पनीले यसको साटो स्वास्थ्य सामग्री उत्पादन गर्न थालेका छन्।
पिस्टन र बेरिङ बनाउने कम्पनीहरू अहिले धमाधम फाइबर ग्लास र प्रोटेक्टिभ मास्क बनाइरहेका छन्। हर्सपावर र क्युविक क्यापासिटी (सिसी)को बारेमा मन्थन गर्ने कम्पनीहरू मानिसलाई कृत्रिम श्वास दिन चाहिने भेन्टिलेटर बनाउन थालेका छन्।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संसारका अधिकांश देशले आफ्नो देशका कार उत्पादकलाई मास्क, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री बनाउन लगाएका छन्।
अमेरिका, बेलायत, फ्रान्स, इटाली, भारतलगायत मुलुकले कार उत्पादकलाई भेन्टिलेटर बनाउन भनेका छन्। धेरैजसो कम्पनीहरुले केही न केही उत्पादन गरिरहेका छन्।
फोर्डले टेस्ला र जनरल मोटर्स(जीएम)सँग समन्वय गरी भेन्टिलेटर र मास्क उत्पादन मंगलबारबाट सुरु गर्दै छन् भने गाउन, कोभिड १९ टेस्ट किस्ट र फेस मास्क उत्पादन सुरु भइसकेको छ।
फोर्डले भारतमा आफ्नो फ्याक्ट्री खोलेर ग्लास भाइजर बनाइरहेको छ भने महिन्द्रा र एमजीले भेन्टिलेटर बनाइरहेका छन्। दुईपाङ्ग्रे सवारी उत्पादक टीभीएसले मास्क उत्पादन गरिरहेको छ।
भारतको मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने बताएको छ। मारूती सुजुकीले भेन्टिलेटरसँगै मास्क तथा अन्य प्रोटेक्टिभ इक्विपमेन्टसमेत उत्पादन गरिरहेको छ।
भारतभर रहेका सवारी उत्पादकहरू कच्चा पदार्थ, इन्जिनियरसहितका कामदारलाई उपस्थित गराएर भेन्टिलेटर तथा स्वास्थ्य सामग्री उत्पादनमा जुटेका छन्।
त्यस्तै महिन्द्रा, टाटा मोटर्स, मारूती सुजुकी पनि भेन्टिलेटर उत्पादनमा केन्द्रित भएका छन्। महिन्द्राले सस्तो मूल्यमा आईसीयू भेन्टिलेटर बनाइरहेको छ।
सामान्यतया ५ देखि १० लाख भारतीय रुपैयाँसम्म पर्ने त्यस्ता भेन्टिलेटर महिन्द्राले ७ हजार ५ सयभन्दा बढी सस्तोमा उत्पादन गरिरहेको बताइएको छ।
Shares
प्रतिक्रिया