प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित २०९ औँ भानु जयन्ती समारोह सम्बोधनका क्रममा उनले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताएका हुन्।
'राष्ट्रिय विभूतिहरूको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक रहेको छ,' प्रधानमन्त्रीले भने।
राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिन आवश्यक रहेकोमा जोड दिँदै उनले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धा पूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।
प्रधानमन्त्रीले आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारको मार्गमा लाग्न प्रेरित गरेको पनि बताए।
'आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न, आदर्श चरित्रमा परिणत गरी भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत हुनुहुन्छ,' उनले भने।
प्रधानमन्त्री देउवाले भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गरे।
आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रुपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान पुर्याएको उनको भनाइ थियो।
'भाषिक एकीकरणका नायक आदिकवि भानुभक्तबाट सिर्जित साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रुपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन ठूलो योगदान पुर्याउनुभएको छ,' प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए। भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभातफेरी कार्यक्रमसमेत गरेको थियो।
Shares
प्रतिक्रिया