ad ad

सुदूरपश्चिम


चरेश नदिएको झोँकमा वृद्धको हत्या, कोठाभित्र शव लुकाएर बाहिरबाट ताला

चरेश नदिएको झोँकमा वृद्धको हत्या, कोठाभित्र शव लुकाएर बाहिरबाट ताला

गोकुल जोशी
भदौ २५, २०८१ मंगलबार १७:४९, कञ्चनपुर

डोटीको दीपायल सिलगढी नगरपालिका–६ का ७५ वर्षीय कालुसिंह विष्ट गत बिहीबार आफ्नै घरमा मृत भेटिए। तीन दिनदेखि बेपत्ता उनको खोजीका लागि परिवारका सदस्यले प्रहरीमा जाहेरी दिए।

खोजी गर्दा विष्टको शव प्रहरीले उनकै घरको कोठाभित्र भेटाएको थियो। बाहिरबाट कोठामा ताला लगाइएको थियो। शंकास्पद घटनाको प्रहरीले अनुसन्धान थाल्यो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ वर्षीय वृद्धको हत्या आरोपमा सोही ठाउँका २२ वर्षीय सरोवर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीसँगको प्रारम्भिक बयानमा श्रेष्ठले अपराध स्वीकारेका छन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार अदालतको अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। चरेश नदिएको झोँकमा ती युवकले वृद्धको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘चरेश लिन त्यहाँ गएको थिएँ। चरेश दिएनन्। हातले घाँटीमा हानेर ढालेँ,’ श्रेष्ठले प्रहरीसमक्ष प्रारम्भिक बयानमा भनेका छन्, ‘त्यसपछि लात्ताले कुटेर मरेपछि कोठामा ताला लगाएर भागेँ।’

घटनापछि ती युवक भागेर कैलाली पुगेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

श्रेष्ठ लागु पदार्थ सेवनकर्ता रहेको अनुसन्धानबाट खुलेको छ। डोटीमा वृद्धको हत्याअघि उनी कैलालीमा कुटपिट घटनामा संलग्न रहेको प्रहरी बताउँछ।

‘धनगढीमा ती युवक र एक जना अर्का मिलेर कुटपिट गरेर लुटेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘त्यसपछि भागेर डोटी पुगेर अर्को घटना गराएको देखिन्छ।’

कैलालीको भजनी नगरपालिका–१ का ३५ वर्षीय लालबहादुर चौधरीलाई गत ११ भदौको राति धनगढीको उत्तरबेहडीमा सडकमा हिँडिरहेको बेला कुटपिट र लुटपाटको घटना भएको थियो। उक्त घटनामा श्रेष्ठको पनि संलग्नता रहेको आशंकामा कैलाली प्रहरीले उनको खोजी गरिरहेको थियो।

करिब एक सातापछि हत्या घटनामा शंकास्पद भन्दै डोटी प्रहरीले खोजीका लागि कैलाली प्रहरीलाई श्रेष्ठको हुलिया पठायो। त्यसपछि कैलाली प्रहरीले श्रेष्ठको खोजी तीव्र पारेको थियो।

सेती प्रादेशिक अस्पतालभित्र सुतिरहेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएर डोटी पठाएको छ। आरोपी नसमातेसम्म डोटीमा हत्या गरिएका वृद्धको परिवारले शव बुझ्न मानिरहेको थिएन।

कैलालीमा कुटपिट र लुटपाटमा संलग्न श्रेष्ठमाथि अहिले कुनै मुद्दा नचलाएर सिधै डोटी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .