बिहानै बिउँझिएर बारीमा खटिन्छन्। तरकारी टिप्छन् र अटोमा राखेर बिक्रीका लागि हिँड्छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–६ का अरिबल डगौँराको दैनिकी यस्तै छ।
दिनहुँ तरकारी बिक्रीका लागि सदरमुकाम महेन्द्रनगरसम्म यात्रा तय गर्छन्। युवा वर्ग स्वदेशमा रोजगारी नपाएर विदेश गइरहेका बेला डगौँरा भने स्वदेशमै पौरख गर्दैछन्।
गाउँमै तरकारी खेती गरेर विदेशकोझैँ आम्दानी गर्दैछन्, अरिबल। डेढ दशकदेखि तरकारी खेतीमा सक्रिय उनले अहिले २ बिगाह जमिनमा तरकारी खेती गरेका छन्।
‘कामको खोजीमा विदेश जानु परेको छैन। कृषि उद्यमले परिवारको खर्च चलेको छ। विदेशमा कडा परिश्रम गर्नुभन्दा आफ्नै ठाउँमा काम गर्दा पनि राम्रै कमाइ हुन्छ,’ उनले भने, ‘सिजनमा सबै खर्च कटाएर ३ लाखसम्म बचत हुन्छ।’
उनले तरकारी खेतीमा गाउँकै ७/८ जनालाई रोजगारी पनि दिलाएका छन्। १५ वर्षअघि अरिबल बगर खेतीमा मजदुरी गर्ने काम गर्थे।
भारतीयले गर्ने बगर खेतीमा मजदुरीको काम गर्दा गर्दै उनले आफैँले तरकारी खेती गर्ने सोच बनाए।
त्यसपछि भने उनले फर्केर पछाडि हेर्नु परेको छैन। भारतीयसँग बारीमा काम गर्दा गर्दै सिकेको सीपले अरिबललाई उद्यमी बनाएको हो।
मजदुरीको काम गर्दा सँगैका साथीभाइ विदेश गएको देखेर अरिबललाई पनि विदेश जान सुझाव आउँथ्यो। उनले विदेशको सपना कहिल्यै बुनेनन्, बरु स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने मान्यताले कृषि उद्यममा लागे।
‘५ वर्ष भारतीयले गर्ने बगर खेतीमा मजदुरीको काम गरेँ। त्यसपछि जमिन भाडामा लिएर आफैँले खेती गर्न थाले,’ उनी भन्छन्, ‘तरकारी खेती गर्ने सबै सीप भारतीयबाट सिकेँ। त्यसले धेरै सघायो।’
उनले दुई बिगाह जमिन वार्षिक ७५ हजार रुपैयाँमा लिजमा लिएका छन्। वर्षात् बाहेकको समयमा करिब ५ बिगाह बगरमा पनि तरकारी लगाउने गरेको उनी बताउँछन्।
उनका अनुसार, झण्डै १२ लाखसम्म तरकारी खेतीमा लगानी लाग्ने गरेको छ। अरिबलको परिवारमा श्रीमती, दुई छोराछोरी गरेर ४ जना छन्।
छोराछोरीको पढाइ खर्चका साथै परिवारको खर्च तरकारी खेतीबाटै जोहो हुने गरेको उनी बताउँछन्।
‘अहिले विदेश जाने लहड चलेको छ। तर स्वदेशमै परिश्रम गरे विदेशकोझैँ आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘ठूलो महत्त्वकांक्षा राखेर एकैपटक पैशा कमाउने ध्यान्नमा लागेर विदेश गएर अलपत्र पनि पर्छन्। गाउँ घरमै हुने कमाइले सन्तुष्ट बनाएको छ।’
Shares
प्रतिक्रिया