ad ad

सुदूरपश्चिम


सुदूर पहाडका दुर्गम बस्तीमा अनलाइनबाट दिइँदैछ विशेषज्ञ डाक्टरको सेवा

सुदूर पहाडका दुर्गम बस्तीमा अनलाइनबाट दिइँदैछ विशेषज्ञ डाक्टरको सेवा

गोकुल जोशी
साउन २९, २०८१ मंगलबार २१:३८, कञ्चनपुर

सुदूरपश्चिमको पहाडी भेगका जिल्लामा विशेषज्ञ डाक्टर थोरै छन्। भएका एकाध पनि जिल्ला सदरमुकाम केन्द्रित छन्। ग्रामीण क्षेत्रका स्थानीय विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवाको पहुँचमा छैनन्।

बैतडीको पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका स्थानीय विशेषज्ञ डाक्टरको सेवाका लागि डडेल्धुरा धाउनु पर्ने बाध्यतामा छन्।

सुदूरका दुर्गम यी दुई पालिकाले अनलाइनमार्फत विशेषज्ञ डाक्टरको सेवा दिने प्रयास गरेका छन्। स्मार्ट हेल्थ ग्लोबल संस्थासँग सहकार्य गरेर पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाले स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा ल्याएका छन्।

सिगास गाउँपालिकाको गाजरी स्वास्थ्य चौकी, थलाकाडा स्वास्थ्य चौकी र शिवलिंग स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा छ।

अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग साक्षात्कार गरेर ओपीडी र इमर्जेन्सी सेवा प्रदान गर्ने गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बोहराले बताए।

उनका अनुसार प्रत्येक स्वास्थ्य चौकीलाई पालिकाले ट्याब, इसिजी मेसिन र टेली स्टेच स्कोप उपलब्ध गराएको छ। सेवाग्राहीले प्रत्यक्ष विशेषज्ञ डाक्टरसँग कुराकानी गरेर परामर्श लिनुका साथै स्वास्थ्य जाँच गराउन सक्ने उनले बताए।

‘यसका लागि इन्टरनेटको सुविधा राम्रो चाहिन्छ। बिरामी विशेषज्ञ डाक्टरसँग अनलाइन एप्समार्फत जोडिन्छन्,’ उनले भने, ‘प्रत्यक्ष कुराकानी गरेर स्वास्थ्य सेवा लिन सक्छन्।’

उनका अनुसार सिगासमा स्मार्ट हेल्थ ग्लोबल संस्थासँग प्रत्येक स्वास्थ्य चौकीका लागि ५ लाखमा ६ महिनाको लागि सम्झौता भएको छ। सिगास–८ को शिवलिंग स्वास्थ्य चौकीमा असारदेखि स्मार्ट हेल्थ कार्यक्रम सुचारु भएको स्वास्थ्य चौकी प्रमुख भीमसिंह ऐरले बताए।

उनका अनुसार संस्थाले ओपिडी र इमर्जेन्सी सेवाका लागि डाक्टरको ड्युटी रोष्टर उपलब्ध गराएको छ। स्वास्थ्य चौकीमा आएका सेवाग्राहीलाई अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग साक्षात्कार गराइन्छ।

‘डाक्टरसँग अनलाइमा जोडिनका लागि हामीसँग उपकरण छ। बिरामीलाई यहाँका स्वास्थ्यकर्मीले डाक्टरसँग साक्षात्कारलाई सहजिकरण गर्छन्,’ उनले भने, ‘अनलाइनबाटै डाक्टरले जाँच गरेर औषधि लेखेर दिन्छन्। बिरामीले स्वास्थ्य चौकीमा उपलब्ध औषधि लगेर जान्छन्।’

बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धा अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग साक्षात्कार गरेर पाउने स्वास्थ्य सेवाले लाभान्वित छन्।

शिवलिंग सिगासको वडा नम्बर ४, ७, ८ र ९ का स्थानीयलाई स्वास्थ्य सेवाका लागि पायक पर्ने स्वास्थ्य चौकी हो। दैनिक १५ जना बिरामीले अनलाइनमार्फत विशेषज्ञ डाक्टरको सेवा लिने गरेको स्वास्थ्य चौकी प्रमुख ऐर बताउँछन्।

आवश्यक परेको खण्डमा जुनसुकै बेला पनि डाक्टरसँग परामर्श लिन सकिने उनको भनाइ छ। विशेष गरी सोमबार र बिहीबार बढी विशेषज्ञ डाक्टर उपलब्ध हुने गरेका छन्।

स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा आएपछि स्वास्थ्यकर्मीलाई समेत सहजता थपिएको थलाकाडा स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बहादुर रोकाया बताउँछन्।

‘हामीलाई थाहा नभएका जटिल केसमा हामी पनि सहयोग लिन्छौँ। बिरामीको अवस्था हेरेर तत्काल रेफर गर्न पनि सहज भएको छ,’ उनले भने।

विशेष गरेर सिकिस्त बिरामी, बालबालिका तथा गर्भवती महिलालाई विशेषज्ञ डाक्टरसँग अनलाइनमार्फत जोड्ने गरेको उनको भनाइ छ।

अनलाइनमार्फत विशेष डाक्टरको सेवा पाएपछि डडेल्धुरा जानुपर्ने बाध्यता हट्दै गएको गाजरी स्वास्थ्य चौकीका प्रमुख जनकसिंह धामीले बताए।

‘दुर्गम ग्रामीण क्षेत्रमा विशेषज्ञ डाक्टरको सेवा नै पाइँदैन। त्यसका लागि डडेल्धुरा या तराई जानु पर्छ,’ उनले भने, ‘अनलाइनमार्फत यो सेवा पाउँदा टाढा जानु पर्ने बाध्यतामा कमी आएको छ।’

गाजरी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सुचारु भएको ४ महिनाको अवधिमा २ हजार बढीले अनलाइन सेवा लिएका छन्।

बैतडीको पुर्चौडी नगरपालिकाले पनि स्मार्ट हेल्थ कार्यक्रम चलाइरहेको छ। पुर्चौडी नगरका स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद अवस्थीका अनुसार स्मार्ट हेल्थ ग्लोबल संस्थासँग गत आर्थिक वर्षमा ३ लाखमा सम्झौता भएको थियो।

पुर्चौडी नगरपालिका–१ हाट स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा छ।

‘चैतदेखि यो कार्यक्रम सुचारु भएको हो। चालु आर्थिक वर्षमा पनि कार्यक्रम जारी नै छ,’ उनले भने, ‘पालिकाले संस्थालाई सम्झौता अनुसारको रकम दिन्छ। ग्रामीण भेगमै स्थानीयले अनलाइनमार्फत विशेषज्ञ डाक्टरको  सेवा पाएका छन्।’

सुदूरपश्चिमको डोटी, दार्चुलालगायत जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर त्यहाँका केही स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .