ad ad

सुदूरपश्चिम


धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी

धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी

नेपालखबर
साउन २८, २०८१ सोमबार ११:५७, अत्तरिया (कैलाली)

जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ।

उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन्। 

गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा चार सय ५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए।

उनका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ।

एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए।

‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन’, उनले भने, ‘यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो। यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ।’

‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नं १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए। उनले भने, ‘कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन। उहाँहरुलाई यसले राहत प्रदान गरेको छ। अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ। निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ।’

चालु आवमा पनि अभियान निरन्तर रहेको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताए।

‘हामी यस अभियानलाई अझै प्रभावकारी बनाउदै लैजाने योजनामा छौँ’, उनले भने, ‘चालु आवमा थप एउटा एम्बुलेन्स पालिकाले ल्याइसकेको छ। त्यो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .