ad ad

सुदूरपश्चिम


बाघलाई नियन्त्रणमा लिने ४ घण्टाको प्रयास असफल, निकुञ्जको टोलीले रातभर पहरा दिने

स्थानीय त्रसित
बाघलाई नियन्त्रणमा लिने ४ घण्टाको प्रयास असफल, निकुञ्जको टोलीले रातभर पहरा दिने

गोकुल जोशी
साउन १७, २०८१ बिहिबार २०:४२, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ अझै नियन्त्रणमा आएको छैन।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो।

घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका छन्।

उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए। बाघलाई नियन्त्रणमा लिन ४ घण्टा प्रयास गर्दा पनि सफल हुन सकेको छैन।

डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने गरिन्छ।

‘बाघ उखुबारीमा हिँडेको हिँड्यै थियो। त्यसैले डार्ट गर्न सकिएको छैन। हात्ती थाकेकोले अहिले ब्रेक लिइएको छ,’ संरक्षण अधिकृत ऐरले भने, ‘अहिले बाघ सुतेको देखिएको छ। हामी नियन्त्रणमा लिने प्रयास गर्दैछौँ।’

उनका अनुसार नियन्त्रणमा नआए राति हात्ती सहितको सुरक्षाकर्मीको टोलीले पहरा दिनेछ।

बाघ लुकेको उखुबारी झण्डै १० बिगाह क्षेत्रफलमा फैलिएको छ। उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .