ad ad

सुदूरपश्चिम


पत्रकारिता छोडेर राजनीति, महेन्द्रनगरको पहिलो मेयर हुँदै प्रदेश प्रमुख

पत्रकारिता छोडेर राजनीति, महेन्द्रनगरको पहिलो मेयर हुँदै प्रदेश प्रमुख

जोशी महेन्द्रनगर नगरपालिकाका पहिलो मेयर हुन्


गोकुल जोशी
साउन १७, २०८१ बिहिबार १६:१०, कञ्चनपुर

कर्णाली प्रदेशको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जोशीलाई कर्णाली प्रदेशको प्रमुखमा नियुक्त गरेका हुन्।

पुर्ख्यौँली घर बझाङको भातेखोला भएका जोशी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा बसोबास गर्दै आएका छन्। जोशीले बीएसम्मको अध्ययन गरेका छन्। 

विसं २०२५/०२६ तिर बझाङको सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरे। 

जोशी पत्रकारिता छोडेर कांग्रेसको राजनीतिमा होमिएका हुन्। पत्रकारिता गर्नुअघि खाद्य संस्थान, परिवार नियोजन संघलगायतमा काम गरे। पढाइ र रोजगारीकै सिलसिलामा जोशी बझाङबाट तराईं झरेका हुन्। 

विसं २०४४/०४५ सालसम्म महेन्द्रनगरमा उनी पत्रकारितामा थिए। स्थानीय महाकाली साप्ताहिक पत्रिकाको प्रकाशक, सम्पादकको भूमिका उनले निर्वाह गरे।

झण्डै साढे तीन दशकअघि पत्रकारितालाई बिट मारेर जोशी कांग्रेसको राजनीतिमा सक्रिय भए। एक कार्यकाल नेपाली कांग्रेस कञ्चनपुर हाँकेका उनी केन्द्रीय सदस्यसम्म बने। 

बहुदल आएपछि ०४९ सालमा भएको पहिलो स्थानीय तह चुनावमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भए, जोशी।

उनी महेन्द्रनगर नगरपालिकाका पहिलो मेयर हुन्।

०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा र कञ्चनपुर क्षेत्र नम्बर ४ बाट विजयी भएपछि उनले कञ्चनपुर छोडे। त्यसपछि भएको उपचुनाव लडेका जोशी माओवादीसँग पराजित भए। 

२०७४ सालको प्रदेश चुनावमा कञ्चनपुर ३(१) बाट चुनाव लडेका जोशी झिनो मतले हारेका थिए। संसदीय चुनाव नजितेका उनै जोशीलाई प्रदेश प्रमुख बन्ने मौका मिलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .