ad ad

सुदूरपश्चिम


प्रदेश सभा बैठकमा सुदूरपश्चिम सरकार गयल, विपक्षी सांसदले टर्च बालेर गरे खोजी

प्रदेश सभा बैठकमा सुदूरपश्चिम सरकार गयल, विपक्षी सांसदले टर्च बालेर गरे खोजी

गोकुल जोशी
साउन १४, २०८१ सोमबार १५:२५, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकार गयल भएपछि बैठक स्थगित भएको हो।

प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए।

सुदूरपश्चिमम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मन्त्रीको उपस्थित अनिवार्य गरेको छ। अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद छल्दै आएका छन्।

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषि मन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो। बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीतिविपरित बैठकमा सहभागी भएपनि आइतबार कृषि मन्त्री थापा बर्खास्तमा परिन्।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारी थियो। एमाले र कांग्रेसले प्रदेश प्रमुख नजिर मियाँसमक्ष समावेदन पेश गर्दै विशेष अधिवेशन माग गरेर  सोडारीलाई अध्यादेश ल्याउनबाट रोकिएको थियो।

त्यसपछि सोडारी नेतृत्व सरकार विशेष अधिवेशनको बैठकमा सहभागी भएको छैन।

विपक्षीले बाले टर्च
सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन्।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन। जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन,’ उनले भने, ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरी नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .