ad ad

सुदूरपश्चिम


घरेलु हिंसा गर्ने श्रीमान्‌लाई जेल पठाएकी धनिशा आफैँ महाकालीमा हेलिइन्

घरेलु हिंसा गर्ने श्रीमान्‌लाई जेल पठाएकी धनिशा आफैँ महाकालीमा हेलिइन्

गोकुल जोशी
साउन १३, २०८१ आइतबार २०:३४, कञ्चनपुर

दार्चुलाको दुहुँ गाउँपालिका–४ थाराकी १७ वर्षीया धनिशा कुँवर उर्लिँदो महाकाली नदीमा शनिबार बेलुका हेलिइन्। महाकालीमा बेपत्ता भएको २४ घण्टा बितिसक्दा पनि उनको अवस्था अझै पत्ता लागेको छैन।

सुरक्षाकर्मीले कुँवरको खोजी जारी राखेका छन्। महाकाली नदीमा हाम फाल्नुको यकिन कारण पनि पत्ता लागेको छैन। प्रहरीले उनको घरपरिवारसँग सोधपुछ गरिरहेको छ।

बेपत्ता किशोरी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्। उनले सोही ठाउँको रिङ्ने ताल क्षेत्रबाट महाकाली नदीमा हाम फालेकी हुन्।

किशोरीले केही दिनयता फरक व्यवहार देखाउने गरेको सोधपुछका क्रममा दिदीले प्रहरीसमक्ष खुलाएकी छन्।

‘दुई तीन दिनदेखि कहिले आफै हाँस्ने, कहिले रुने गरिरहेकी थिइन्। व्यवहार फरक थियो,’ धनिशाकी दिदीले प्रहरी समक्ष भनेकी छन्, ‘हिजो घरबाट निस्किेकी थिइन्। नजिकै खोज्दा भेटिएन।’

स्थानीयले महाकाली किनारमा देखेपछि त्यहाँ पुग्दा घटना देखेको उनले बताइन्। प्रहरी स्रोतका अनुसार अहिलेसम्म कसैसंग रिसिबी, झैझगडा भएको देखिएको छैन।

ती किशोरी हाम फाल्ने बेलाको भिडिओमा उर्लिँदो महाकाली छेउमै सानो पिल्लरमा अडेस लिएर उभिएकी छन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्।

एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन्।

धनिशाले गत वर्ष भदौमा महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरसँग भागी बिहे गरेकी थिइन्। तर उनीहरुबीचको सम्बन्ध सुमधुर हुन सकेन।

श्रीमान् उमेश जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा करिब ५ महिनादेखि पूर्पक्षको लागि जेलमा छन्। उमेशविरुद्धको मुद्दाको फैसला आएको छैन।

उमेशले धनिशालाई कुटपिट गर्थे। प्रहरीका अनुसार दिदीमार्फत धनिशाले गत माघ पहिलो सातातिर प्रहरीमा उजुरी दिएकी थिइन्।

त्यसबेला कुटपिट गरेर धनिशाको शरीरभरी डामैडाम थिए। श्रीमान् उमेशले घरबाहिर पनि जान नदिने गरेको भन्दै धनिशाले दिदीमार्फत प्रहरीलाई खबर गरेकी थिइन्।

पक्राउ गर्न गएका सामुदायिक प्रहरी बाङ्गाबगरका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि उमेशले चक्कु प्रहार गरेका थिए। श्रीमती धनिशामाथि

आक्रमण गर्ने क्रममा माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी उमेश फरार भए।

त्यसपछि उनी गत फागुन २० मा महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ परेका थिए। हिरासतबाट अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला उमेश हत्कडीसहित भागेका थिए।

उनलाई पक्राउ गर्न पछ्याउने क्रममा महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीले ज्यानै गुमाए।

हतकडीसहित महाकाली नदी पारी पुगेका उमेशलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको थियो।

भागी बिहे गरेर आएको श्रीमान्ले कुटपिट गरेर यातना दिएको र बलात्कार गरेको भन्दै धनिसाले मुद्दा हालेपछि उनी दिदीको घरमा बस्दै आएकी हुन्। श्रीमान्लाई जेल हालेको ५ महिनामै धनिशा महाकालीमा हेलिइन्।

प्रारम्भिक अनुसन्धानबाट श्रीमान्सँगको पूरानो घटना जोडिएको नपाइएको स्रोत बताउँछ।

‘धनिशाले श्रीमान्लाई जेल पठाएपछि नयाँ जीवन पाएँ भन्थिन्। अहिलेसम्म पूरानो घटनासँग केही सम्बन्ध देखिँदैन,’ प्रहरी स्रोत भन्छ, ‘जेलबाट केही धाक, धम्की आएको छ कि भनेर बुझ्दा त्यस्तो पाइँदैन। हामी विस्तृत अनुसन्धान गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .