ad ad

सुदूरपश्चिम


एमाले र कांग्रेसले माग्यो सुदूरपश्चिममा मुख्यमन्त्रीको राजीनामा, सोडारी संसद् फेस गर्ने तयारीमा

एमाले र कांग्रेसले माग्यो सुदूरपश्चिममा मुख्यमन्त्रीको राजीनामा, सोडारी संसद् फेस गर्ने तयारीमा

गोकुल जोशी
असार २३, २०८१ आइतबार २०:११, कञ्चनपुर

नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन्।

आइतबार दुवै पार्टीलको संसदीय दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन्।

केन्द्रमा सत्ता समिकरण उलटफेरसंगै नेकपा एमालेले २० असारमा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सामेल ३ मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा छ।  

एमालेले  समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्व सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न विज्ञप्तीमार्फत सुझाव दिइएको छ। यस्तै बहुमत गुमाइसकेका अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न नगराउन समेत आग्रह गरिएको छ।

एमाले, माओवादी, र नाउपा रञ्जिता पक्षको समर्थनमा ६ वैशाखमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। 

उता सोडारी तत्काल राजीनामा नदिने तयारीमा छन्। अल्पमतमा परेका मुख्यमन्त्री सोडारी साउनमा विश्वासको मत लिने तयारी गरिरहेका छन्। 

एमलेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत  लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

विश्वासको मत प्राप्त गर्न नसके सोडारी नेतृत्वको सरकार ढल्नेछ। बहुमत गुमाइसकेको अवस्थामा पनि सोडारी विश्वासको मतको प्रस्ताव सामना गर्ने तयारीमा छन्। 

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ।

अहिलेको अवस्थामा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षय २ र   स्वतन्त्र सासंद डा।तारा प्रसाद जोशीको  समर्थन रहेको देखिन्छ।

नेकपा एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै सरकार गठनका लागि सहज अंकगणित छ। 

कांग्रेस र एमालेका सासंद प्रदेश सरकार गठका लागि छलफल छन्। कांग्रेसका १८ र एमालेका ११ जना सासंद रहेका छन्। नागरिक उन्मुक्तिका ७ मध्ये २ जना अल्पमतको सरकारमा छन्। रेशम पक्षीय ५ सांसद प्रतिपक्षमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .