ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमका यी ५ ‘बेकामे’ मन्त्री : सरकारी गाडीमा हुइँकिन्छन्, गफिएर दिन बिताउँछन्

बग्रेल्ती मन्त्री तर मन्त्रालय खाली
सुदूरपश्चिमका यी ५ ‘बेकामे’ मन्त्री : सरकारी गाडीमा हुइँकिन्छन्, गफिएर दिन बिताउँछन्

गोकुल जोशी
असार ११, २०८१ मंगलबार २१:५४, कञ्चनपुर

महेन्द्रनगरका हीरा सार्की झण्डावाल सरकारी गाडी चढ्छन्। उनीसँगै अंगरक्षक (पीएसओ) पनि हुन्छन्। प्रायः दिनहुँ महेन्द्रनगरदेखि धनगढी ओहोरदोहोर गर्छन्। धनगढी नगएको दिन कहिलेकाहीँ कार्यक्रममा भाषण गर्न पुग्छन्।

उनी सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री हुन्। तर मन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि जिम्मेवारी पाएका छैनन्। कामविहीन मन्त्री सार्की धनगढी गएको दिन मुख्यमन्त्री कार्यालय र एमाले संसदीय दलको कार्यालयमा बसेर दिन गुजार्छन्।

‘चियापान भेटघाट गरेर दिन बित्छ। कहिले कार्यक्रमका लागि निम्तो आउँछ,’ नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा बिनाविभागीय मन्त्री रहेका सार्की भन्छन्, ‘मन्त्री बनेका छौँ। जिम्मेवारी केही छैन।’

माओवादी सांसद लक्ष्मी विकको दुई सातायता दैनिकी फेरिएको छ। सरकारी गाडी चढ्ने उनको सुरक्षाका लागि अंगरक्षक तैनाथ छन्। समानुपातिक सांसद हुँदै मन्त्री बनेकी विकको पनि परिभाषित काम भने छैन।

केही समय काठमाडौँ बिताएर आएकी उनी आजकाल अधिकांश समय मुख्यमन्त्री कार्यालयमा भेटिने गर्छिन्।

‘जनता भेट्न आउँछन्। उनीहरू मन्त्रीका नाताले समस्या, गुनासो सुनाउँछन्,’ विक भन्छिन्, ‘तर आफू नामको मात्रै मन्त्री। विभाग पनि छैन। काम पनि छैन।’

सुदूरपश्चिम प्रदेश सरकारमा बिनाविभागीय ५ मन्त्रीको दैनिकी यस्तै छ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको कार्यालयमा बिनाविभागीय मन्त्रीका लागि एउटा कक्ष दिइएको छ। उनीहरू त्यहीँ भेला भएर गफिन्छन्। केहीबेर भेट्न आउनेबाट बधाई थाप्छन्। भलाकुसारी गर्छन् र फेरि तितरबितर हुन्छन्। बिनाविभागीय मन्त्रीले मन्त्रालय नपाउँदा उनीहरू भेटिने यकिन ठेगानासमेत छैन।

मुख्यमन्त्री कार्यालयमा केहीबेर बसेर कोही दलको कार्यालयमा त कोही कार्यक्रमतिर लाग्ने गरेका छन्।

‘मन्त्रालय कहिले पाउँछौँ भन्ने केही टुंगो छैन। मन्त्री नियुक्त भएको यत्रो समय बितिसक्दा पनि काम गर्न पाएका छैनौँ,’ एमालेबाट बिनाविभागीय मन्त्री रहेका वीरबहादुर थापा भन्छन्, ‘चाँडो विभाग तोकिए सहज हुन्थ्यो।’

सुदूरपश्चिमका बिनाविभागीय मन्त्रीले आवास पनि पाएका छैनन्। उनीहरू कोही आफ्नै घरमा त कोही होटलमा बस्ने गरेका छन्।

‘धनगढीमा आफू र सचिवालयका सदस्यसहित होटलमा बस्दा दैनिक १५/२० हजार खर्च आयो। सबै खर्च तिर्ने व्यवस्था गर्ने भने पनि खर्च धेरै आउने भएकाले अचेल होटलमा बस्न छाडेँ,’ एक बिनाविभागीय मन्त्रीले भने।

मुख्यमन्त्री सोडारीले २८ जेठमा नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एमालेबाट ३/३ र नेकपा एकीकृत समाजवादीबाट एक जनालाई सरकारमा सामेल गराएका थिए।

सरकार विस्तार गरेको दुई साता बितिसक्दा पनि मन्त्रीहरूको विभाग तोक्न सकेका छैनन्।

सरकार विस्तारका क्रममा माओवादीका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालय र एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको थियो।

एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादीका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्त अहिले सुदूरपश्चिम प्रदेश सरकारमा बिनाविभागीय मन्त्री छन्।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले रिक्त छन्। बग्रेल्ती बिनाविभागीय मन्त्री हुँदा पनि मुख्यमन्त्री सोडारीले यी दुवै मन्त्रालय आफूमातहत राखेका छन्।

सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई भाग पुर्‍याउन सुदूरपश्चिममा मन्त्रालय फुटाउन दलहरुबीच समझदारी बनेपछि सरकार विस्तार भएको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी, ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय र सामाजिक विकास फुटाएर शिक्षा, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाउने तयारी छ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय बनाउने समझदारी भएको नेताहरू बताउँछन्।

तर मुख्यमन्त्री सोडारी संघीय राजधानी काठमाडौंमा छन्।

गठबन्धनमा आबद्ध दलहरूबीच शीर्ष तहमा सहमतिपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारका बिनाविभागीय मन्त्रीलाई विभाग तोकिने सत्ताको नेतृत्व गरेको एकीकृत समाजवादीका सांसद प्रकाश रावल बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .